सुडानमा भोकमरीको खतरनाक जोखिम : डब्ल्यूएफपी

-



     सफल आवाज    
     फागुन २३ गते २०८० मा प्रकाशित



पोर्ट सुडान, २३ फागुन । सुडानमा प्रतिद्वन्द्वी जनरलहरूबीच करिब ११ महिनादेखि जारी युद्धले ‘विश्वको सबैभन्दा ठूलो भोकमरी सङ्कट निम्त्याउने खतरा’ रहेको संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले बुधबार चेतावनी दिएको छ ।

सेना प्रमुख अब्देल फतह अल बुरहान र उनका पूर्व डेपुटी मोहम्मद हमदान डग्लोबीच भएको युद्धमा दशौं हजारको मृत्यु भएको छ, सुडानको पूर्वाधार र अर्थतन्त्र ध्वस्त भएको छ । यसले ८० लाखभन्दा बढी मानिसहरूलाई विस्थापित गरेको छ ।

यसबाहेक, द्वन्द्वअघि नै आफ्नो घरबाट विस्थापित भएका २० लाखभन्दा बढी नागरिकका कारण सुडानमा विश्वको सबैभन्दा ठूलो विस्थापन सङ्कट निम्त्याएको छ । डब्लुएफपीका कार्यकारी निर्देशक सिन्डी म्याक्केनले भने, “अहिले लाखौं मानिसको जीवन र सम्पूर्ण क्षेत्रको शान्ति र स्थिरता खतरामा परेको छ ।”

“बीस वर्षअघि डार्फरमा विश्वको सबैभन्दा ठूलो भोकमरीको सङ्कट थियो र विश्वले यसको प्रतिकार गर्न एकजुट भएको थियो,” सुडानको विशाल पश्चिमी क्षेत्रतर्फको विस्थापितहरूको अवस्था सङ्केत गर्दै उनले भने।