चिनियाँ लगानीका कारण पदबाट बर्खास्त गरिएको श्रीलङ्काका पूर्वराष्ट्रपतिको दाबी

-



     सफल आवाज    
     फागुन २४ गते २०८० मा प्रकाशित



कोलम्बो, २४ फागुन । श्रीलङ्काका पूर्वराष्ट्रपति गोटाबाया राजपक्षेले आफ्नो पतनका लागि चीन र अन्य मुलुकहरूबीचको ‘भू–राजनीतिक प्रतिद्वन्द्विता’ जिम्मेबार रहेको दाबी गरिएको पुस्तक विमोचन गरेर बिहीबार आफ्नो बर्खास्तीको लामो मौनतालाई अन्त्य गरे।

टापु मुलुक श्रीलङ्काको अहिलेसम्मको सबैभन्दा खराब आर्थिक सङ्कटमा महिनौँसम्म सडक र विरोध प्रदर्शनपछि सन् २०२२ मा प्रदर्शनकारीहरूले उनको आधिकारिक निवासमा आक्रमण गरेपछि राजपक्षेलाई अस्थायी निर्वासनमा जान बाध्य पारेका थिए ।

आफ्नो पतनको स्व–प्रकाशित लेख ‘द कन्स्पिरेसी’ मा राजपक्षेले आफ्नो सरकारको आर्थिक नीतिहरूको बचाउ गरे । ती आर्थिक नीतिहरूका कारण अभूतपूर्व विदेशी ऋण डिफल्ट भएको थियो भने धेरै महिनासम्म खाद्यान्न र इन्धनको गम्भीर अभाव भएको थियो ।

यसको सट्टा उनका अनुसार सन् २००६ पछि श्रीलङ्कामा भू–राजनीतिक प्रतिद्वन्द्विताको तत्व ल्याउने चिनियाँ लगानीका पूर्वाधार परियोजनाहरूले उनलाई सत्ताबाट हटायो । “मलाई सत्ताबाट हटाउनका लागि चालिएका कदमहरूमा कुनै विदेशी हात नभएको दाबी गर्नु एकदमै मूर्खतापूर्ण हुनेछ”, उनले भने ।

राजपक्षेले निश्चित मुलुकहरूको नाम लिनुभएन तर अमेरिकाले विगतमा पूर्वाधार सम्झौतामा हस्ताक्षर गरेर श्रीलङ्काले चिनियाँ ऋणको पासोमा फस्ने जोखिम उठाइरहेको बारम्बार चेतावनी दिएको थियो । आफ्नो निष्कासनको समयमा ७४ वर्षीय राजपक्षेलाई सुरुमा एउटा सैन्य विमानमा श्रीलङ्काबाट बाहिर लगिएको थियो र उहाँले सिङ्गापुरबाट आफ्नो राजीनामा इमेल गरेका थिए ।

यद्यपि पछि उनी स्वदेश फर्किसकेका छन् । पुस्तकमा राजपक्षेले कुनै प्रमाण प्रस्तुत नगरी आफ्नो कार्यकालको अन्तिम महिनाहरूमा अर्थतन्त्रलाई रोक्न सडकमा उत्रिएका प्रदर्शनकारीहरूलाई ‘विदेशी पैसा’ प्राप्त भएको दावी गरे। बेइजिङले श्रीलङ्कामा धेरै विकास परियोजनामा लगानी गरेको छ ।

यसमा राजपक्षेको गृहनगर हम्बनटोटामा विरलै प्रयोग हुने सम्मेलन केन्द्र र विमानस्थल समावेश छ । यसलाई आलोचकहरूले सेतो हात्ती भनेका छन् । चीन श्रीलङ्काको सबैभन्दा ठूलो एकल द्विपक्षीय ऋणदाता पनि हो । चीनसँग श्रीलङ्काको विदेशी ऋणको करिब १० प्रतिशत हिस्सा छ ।