ईयूद्वारा रूसी खाद्यान्न आयातमा कर वृद्धि गर्ने तयारी

-



     सफल आवाज    
     चैत्र ९ गते २०८० मा प्रकाशित



ब्रसेल्स, ९ चैत । युरोपेली सङ्घ (ईयू) ले युक्रेनविरुद्धको युद्धमा रूसले प्रयोग गर्ने राजस्व सङ्कलनलाई रोक्न खाद्यान्न र त्यससँग सम्बन्धित आयातमा ‘निषेधात्मक कर’ लगाउने भएको छ ।

युरोपेली आयोगको यो प्रस्ताव ब्रसेल्समा शुक्रबार हुने शिखर सम्मेलनका क्रममा ईयू नेतासमक्ष प्रस्तुत गरिएको हो । व्यापार आयुक्त भाल्डिस डोम्ब्रोवस्कीसले भने, “किएभद्वारा स्वागत गरिएको थप प्रतिबन्धहरू अन्यत्र खाद्य आपूर्तिमा बाधा नपुगोस् भनी ईयूमार्फत अन्य बजारमा पठाउने रूसी अनाजमा लागू हुनेछैन ।”

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार भिडियो लिङ्कमार्फत ईयू नेताहरूसँग रूसी खाद्यान्नको बजारसम्म ‘निर्बाध’ पहुँच कायम रहेको र युक्रेनी आयात सीमित रहेको गुनासो गरेका थिए।

ब्रसेल्सले २७ राष्ट्र सदस्य रहेको ईयूमा रूसी सम्पत्ति रोक्का गरेको, राष्ट्रपति भ्लादिमिर पुटिनलगायत रूसी नेताहरूलाई लक्षित गरेको र व्यापारमा अङ्कुश लगाएपछि रूसको आर्थिक मामिलामा दबाब बढाउने प्रयास गरिरहेको छ ।