रूसी कन्सर्ट हलमा भएको आक्रमणको विश्वभरबाट निन्दा

-



     सफल आवाज    
     चैत्र १० गते २०८० मा प्रकाशित


Vehicles of Russian emergency services are parked near the burning Crocus City Hall concert venue following a reported shooting incident, outside Moscow, Russia, March 22, 2024. REUTERS/Maxim Shemetov


मस्को, १० चैत । मस्कोस्थित कन्सर्ट हल (क्रोकस सिटी हल) मा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ६० जनाभन्दा बढीको मृत्यु हुनुका साथै १०० भन्दा बढी घाइते भएको घटनाप्रति विश्वभरका नेताहरूले दुःख व्यक्त गरेका छन् ।

शुक्रबार मस्कोको क्रोकस सिटी हलमा भएको आतङ्कवादी हमलामा ६० जनाभन्दा बढीको मृत्यु भएको रूसको अनुसन्धान समिति (आइसीआर) ले पुष्टि गरेको छ । आतङ्कवादी आक्रमणका कारण ६० जनाभन्दा बढीको मृत्यु भएको प्रारम्भिक पुष्टि आइसीआरले गरेको हो ।

घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या थप बढ्न सक्ने आइसीआरले शनिबार बताएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुका साथै उपचारमा संलग्न चिकित्सकलाई धन्यवाद दिएको रूसी उपप्रधानमन्त्री तात्याना गोलिकोवालाई उद्धृत गरी रूसी सञ्चारमाध्यमहरूले समाचार सम्प्रेषण गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले शुक्रबार एक विज्ञप्ति जारी गरी मस्कोमा आजको आतङ्कवादी आक्रमणको कडा शब्दमा निन्दा गरे। गुटेर्रेसले रूसको आधिकारिक नाम उल्लेख गर्दै शोक सन्तप्त परिवार, जनता र रूसीसरकारप्रति भावपूर्ण समवेदना व्यक्त गरे।

संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले पनि शोक व्यक्त गर्दै सबै राष्ट्रलाई रूसी सरकार र अन्य अधिकारीहरूसँग आतङ्कवादका यी निन्दनीय कार्यहरूका दोषी र समर्थकहरूलाई जवाफदेही बनाउन र उनीहरूलाई न्यायको कठघरामा ल्याउन ‘सक्रिय सहयोग गर्न’ आग्रह गरेको छ ।