उत्तर कोरियालाई लक्षित गरी ल्याइएको प्रस्तावमाथि रूसद्वारा भिटो प्रयोग

-



     सफल आवाज    
     चैत्र १७ गते २०८० मा प्रकाशित



न्युयोर्क, १७ चैत । उत्तर कोरियाले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद् (यूएनएससी) प्रतिबन्ध उल्लङ्घनको अनुसन्धान जिम्मेवारी प्राप्त विशेषज्ञको स्वतन्त्र समिति नवीकरण गर्ने उद्देश्यले गरिएको प्रस्तावलाई अवरुद्ध गर्दै रूसले बिहीबार संयुक्त राष्ट्र सङ्घमा आफ्नो भिटो शक्तिको प्रयोग गरेको छ ।

युक्रेनमा भएको द्वन्द्व र यूएनएससी प्रतिबन्ध उल्लङ्गनको अनुसन्धान विशेषज्ञ समिति निर्माणको प्रस्तावले मस्को र पश्चिमी देशबीच थप तनाव बढेको हो । पछिल्लो समय उत्तर कोरियाले यूएनएससी प्रतिबन्ध उल्लङ्गन गर्दै रूसको मुख्य युद्ध हतियार आपूर्तिकर्ताको रूपमा देखा परेको यूरोपेली मुलुकहरूको बुझाई छ ।

प्योङयाङको ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमको बिस्तार गर्दै उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकी भूमिमा पुग्न सक्ने लामो दूरीको अन्तरमहाद्वीपीय क्षेप्यास्त्रसहित थुप्रै हतियार परीक्षण गर्न आफ्नो सेनालाई प्रोत्साहित गरे। रूसले उत्तर कोरियाको अवैध हतियार कार्यक्रममा अन्तर्राष्ट्रिय प्रतिबन्ध र संयुक्त राष्ट्रको अनुसन्धानलाई समर्थन गरेको सिएनएनले जनाएको छ ।

यद्यपि, युक्रेनमा हावी गम्भीर सङ्कटको बीचमा गतिशीलता परिवर्तन हुँदा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले हतियारका लागि उत्तर कोरियामा निर्भरता बढाएको देखिन्छ । संयुक्त राष्ट्रसङ्घका लागि रूसी राजदूत भासिली नेबेन्जियाले उत्तर कोरियामाथि संयुक्त राष्ट्रसङ्घले लगाएको प्रतिबन्धले प्रासङ्गिकता गुमाई वास्तविकताबाट अलगिएकाले भिटो प्रयोग गरेको बताए ।

उनले सन् २००६ देखि नै प्रतिबन्धको प्रभावकारिताको आलोचना गर्दै लक्ष्य विमुख भएको कोरियाली प्रायद्वीपमा सकारात्मक परिवर्तनमा योगदान नगरेको तर्क गरे । नेबेन्जियाले रूसको राष्ट्रिय सुरक्षा चासोलाई प्रत्यक्ष असर पार्ने गरी अमेरिकी नेतृत्वमा रहेका देशहरूको गठबन्धनले प्योङयाङका गतिविधिलाई अवरोध पु¥याएको सम्बनधमा रूसी चिन्तासमेत उल्लेख गरे।