इजरायली सेना अल–शिफा अस्पतालबाट फिर्ता

-



     सफल आवाज    
     चैत्र १९ गते २०८० मा प्रकाशित



गाजापट्टी, १९ चैत । गाजामा हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले गाजाको मुख्य अल–शिफा अस्पतालबाट फिर्ता भएको जनाएको छ ।

अस्पताल परिसरमा तैनाथ इजरायली ट्याङ्क र अन्य सैनिक सवारीसाधन इजरायली सेनाले हटाएको छ । इजरायली सेनाले अस्पताल परिसरमा गरेको कारबाहीमा दर्जनौं व्यक्ति मारिएसँगै अस्पताल परिसर परित्याग गरेको स्वास्थ्य मन्त्रालयको भनाई छ ।

यद्यपी इजरायली सेनाले अस्पताल छाडेको हो वा होइन भन्ने पुष्टि गरिसकेको छैन । प्रत्यक्षदर्शीको भनाईमा अस्पताल परिसरमा इजरायली सेनाले दर्जनौं हवाई हमला गरेको थियो । हमास सरकारद्वारा संचालित संचार इकाईले आफ्ना सैनिक बन्दोबस्तीका सामान हटाउन इजरायली सेनाले बमबारी गरेको हुनसक्ने बताएको छ ।

हमासको मुख्य अखडा रहेको विश्वासमा अल–शिफा अस्पताललाई नियन्त्रणमा लिन इजरायलले गत मार्च १८ मा अस्पतालभित्रै सैन्य कारबाही चलाएको थियो । यसक्रममा सेनाले अल–शिफा अस्पतालको परिसरमा २०० भन्दा बढी हमास लडाकू मारिएको दाबी गरेको थियो ।

इजरायली सेनाले अस्पतालबाट हमास र इस्लामिक जिहादका लडाकूका हातहतियार र रकम बरामद गरेको दाबी गरेको थियो । हमासले अल–शिफा र अन्य स्वास्थ्य संस्थाहरुमा आफ्ना लडाकू नरहेको बताउँदै आएको थियो ।