इजरायली सेना अल शिफा अस्पतालबाट फिर्ता, सहयोगका लागि राष्ट्रसङ्घ अस्पतालमा पुग्ने

-



     सफल आवाज    
     चैत्र २० गते २०८० मा प्रकाशित



संयुक्त राष्ट्रसङ्घ, २० चैत । गाजा शहरको अल शिफा अस्पतालबाट इजरायली सेना फिर्ता भएपछि संयुक्त राष्ट्रसङ्घले आफ्नो सहयोगलाई त्यहाँको लक्ष्य बनाउने तयारी गरेको संयुक्त राष्ट्रसङ्घका एक प्रवक्ताले बताएका छन् ।

“मानिसहरूलाई उपचार गर्न र अस्पतालको अवस्था बुझ्न मद्दत गर्न सकियोस् भनी हामी जतिसक्दो चाँडो अस्पताल जाने योजना बनाइरहेका छौँ,” संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफन दुजारिकले भने।

यसैबीच मध्य गाजास्थित अल अक्सा अस्पतालमा आइतबार डब्लुएचओको एक टोलीले मानवीय सहायता अभियान सञ्चालन गरिरहेको बेला अस्पताल परिसरभित्र रहेको शिविरमा इजरायली हवाई आक्रमण भएको थियो ।

घटनामा चार जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । उनले इजरायली रक्षा बलले अल शिफा अस्पताल परिसर खाली गरेको भन्ने समाचार आएपछि यो कदम चालिएको बताएका हुन्।

इजरायली सरकारबाट द्वन्द्व कम गर्न र उचित सुरक्षा आश्वासनको प्रतिक्षा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूुएचओ) ले गरिरहेको प्रवक्ताले बताए । डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयेससका अनुसार उनीहरूले प्राप्त गरेको सूचना निकै निराशाजनक रहेको दुजारिकले बताए ।

प्यालेस्टाइनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय निकाय युएनआरडब्लुएले गाजा प्रवेश गर्ने मानवीय सामग्रीको परिमाणमा कुनै उल्लेखनीय परिवर्तन नभएको वा उत्तरमा पहुँचमा सुधार नआएको जनाएको छ । मार्च १ देखि ३० सम्म दैनिक औसत १५९ सहायता ट्रक गाजा प्रवेश गरेका छन् ।

बिहीबार सबैभन्दा बढी २६४ ट्रक गाजामा प्रवेश गरेका थिए । यो दैनिक ५०० ट्रक सञ्चालन लक्ष्यभन्दा निकै कम रहेको उनले बताए ।