गाजामा सक्रिय सहायताकर्मी मारिनु दुःखदः इजरायली सेना प्रमुख

-



     सफल आवाज    
     चैत्र २१ गते २०८० मा प्रकाशित



गाजा पट्टी, २१ चैत । इजरायली सेना प्रमुख हर्जी हालेभीले गाजामा इजरायली सेनाले गरेको हवाई हमलाबाट सात जना सहायताकर्मी मारिएको घटनाबाट आफू दुःखित भएको बताएका छन् ।

सहायताकर्मीको मृत्यु भएकाप्रति अन्तर्राष्ट्रिय समुदायले तिब्र आलोचना गरेसँगै सेना प्रमुख हालेभीले इजरायली सेनाबाट “गम्भीर त्रुटी” भएको स्वीकार गरे। इजरायली सेनाले वर्ल्ड सेन्ट्रल किचेन नामको सहायता टोलीमाथि सोमबार रातिको समयमा हवाई हमला गरेको थियो ।

सेना प्रमुख हालेभीले एक भिडियो सन्देशमा वल्र्ड किचेनको सहायता टोलीका गतिविधिलाई राम्रोसँग पहिचान गर्न नसक्दा त्रुटिबस सेनाले हमला गरेको बताए। उनले वर्ल्ड किचेनका सदस्यमाथि जानाजान आक्रमण नगरिएको दाबी गरे।

गत अक्टोबरमा युद्ध प्रारम्भ भएयता अमेरिकी परोपकारी संस्था वर्ल्ड किचेनले पहिलो पटक गाजामा विस्थापित सर्वसाधारणलाई खाद्यान्न समेतका दैनिक उपभोग्य राहत सामग्री वितरण गर्न थालेको थियो । हवाई हमलाबाट वल्र्ड किचेनको राहत सामग्री राखेको सवारी साधन ध्वस्त भएको थियो ।

वर्ल्ड किचेनले प्रकाशन गरेको विज्ञप्तिमा समुद्री मार्ग हुँदै गाजामा ल्याइएको १०० टनभन्दा बढी मानवीय खाद्यान्न सहायता सामुद्रिक जहाजबाट अर्को गाडीमा राख्दै गर्दा आफ्ना कर्मचारीमाथि हमला भएको जनाएको छ । यस आक्रमणबाट अस्ट्रेलिया, बेलायत, प्यालेस्टाइन, पोल्यान्ड र अमेरिकी–क्यानाडेली नागरिक हताहत भएका थिए ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त घटनाको कडा शब्दमा निन्दा एवं भत्र्सना गरे। उनले इजरायलले गाजामा मानवीय सहायताका लागि मद्दत गरिरहेका सहायताकर्मीमाथि हमला गर्नु अत्यन्त निन्दनीय घटना भएको बताए ।