बाइडेन, नेतान्याहुबीच गाजा युद्धका विषयमा टेलिफोन वार्ता

-



     सफल आवाज    
     चैत्र २२ गते २०८० मा प्रकाशित



गाजा पट्टि, २२ चैत । अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच यसै साता गाजामा सात जना विदेशी सहायताकर्मी मारिएको घटनालाई लिएर बिहीबार टेलिफोन वार्ता हुने भएको छ ।

अमेरिकी मानवीय सहायता एजेन्सी वल्र्ड सेन्ट्रल किचनमा आबद्ध सात जना सहायताकर्मीहरु मारिएपछि राष्ट्रपति बाइडेनले यसअघि नै क्षोभ व्यक्त गरे। गाजामा भोकमरीको स्थिति उत्पन्न भएको जनाउँदै इजरायली समन्वयमै वल्र्ड किचेनले समुद्री मार्गबाट भित्र्याएको सहायता सामग्री गाजामा वितरण गर्न थालेको थियो ।

एक जना अमेरिकी अधिकारीले बाइडेन र नेतान्याहुबीच बिहीबार टेलिफोन वार्ता हुन लागेको पुष्टि गरेका छन् । इजरायली हवाई हमलाबाट गाजामा मानवीय सहायताकर्मी चढेको सवारी साधनमा क्षति पुगेको थियो । यस आक्रमणबाट एक जना अमेरिकी–क्यानाडेली नागरिक, तीन जना बेलायती, पोल्यान्ड, अस्ट्रेलिया र प्यालेस्टाइनका एक एक जनाको ज्यान गएको थियो ।

हमास विरुद्धको युद्धमा इजरायलले गरिरहेको पछिल्लो बमबारीबाट ३२ हजारभन्दा बढी सर्वसाधारण प्यालेस्टिनीको ज्यान गइसकेको छ । मारिनेहरुमा अधिकांश बालबालिका र महिला रहेका छन् । इजरायललाई समर्थन गरिरहेका अमेरिका समेतका पश्चिमा राष्ट्रहरु इजरायलले पछिल्लो पटक मानवीय सहायताकर्मीलाई लक्षित गरि आक्रमण गरेपछि चिन्तित बनेका छन् । अमेरिकी राष्ट्रपति बाइडेन समेतले इजरायली नेतृत्वमाथि तिब्र रोश प्रकट गरेका छन् ।

इजरायलले सहायताकर्मीमाथि भएको आक्रमणको जिम्मा लिएको छ । तर इजरायलले उक्त घटना जानाजान नभएको दाबी गरेको छ । प्रधानमन्त्री नेतान्याहु, इजरायली सेना प्रमुख समेतले उक्त घटनाको छानबिन भइरहेको बताए।