अमेरिकी अर्थमन्त्री येलेन चीन भ्रमणमा

-



     सफल आवाज    
     चैत्र २२ गते २०८० मा प्रकाशित



एन्कोरेज, २२ चैत । अमेरिकी अर्थमन्त्री जानेट येलेन चीनसँगको व्यापार र लगानीसम्बन्धी विषयमा छलफल गर्न चीन प्रस्थान गरेकी छन् । एक वर्षभित्र अर्थमन्त्री येलेनको चीनको यो दोस्रो भ्रमण हो । चीनमा रहँदा उनले केही औद्योगिक क्षेत्रमा चीनले व्यापक लगानी गरेपछि त्यसबाट उत्पन्न चासो र चिन्ताप्रति चिनियाँ अधिकारीहरुसँग छलफल गर्नेछन् ।

यही अप्रिल ३ देखि ९ तारिखसम्म हुने अर्थमन्त्री येलेनको भ्रमण दक्षिणी शहर ग्वान्झाउबाट सुरु हुनेछ । ग्वान्झाउमा येलेनले त्यहाँ रहेका अमेरिकी कम्पनीका प्रतिनिधिबाट ब्रिफिङ लिनुका साथै चिनियाँ अधिकारीहरुसँग छलफल गर्नेछिन्। उनले ग्वान्झाउमा चीनका उपप्रधानमन्त्री हे लिफेङर ग्जान्झाउका प्रान्तीय गभर्नर वाङ वाइझोङसँग भेटवार्ता गर्नेछिन् । त्यसपछि अर्थमन्त्री येलेन बेइजिङका लागि प्रस्थान गर्नेछिन् ।

बेइजिङमा उनले चिनियाँ प्रधानमन्त्री लि क्याङ, अर्थमन्त्री लान फोआन र केन्द्रीय बैंकका गभर्नर पान गोङसेङसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने अमेरिकी अर्थ मन्त्रालयले जनाएको छ । अर्थमन्त्री येलेनसँगै यात्रारत पत्रकारले सोधेको प्रश्नमा येलेनले चीनले कतिपय औद्योगिक क्षेत्रमा अत्यधिक लगानी गरेकाले त्यसतर्फ हामीले चासो राख्नेछौं भनिन्। चीनको यस लगानीबाट अमेरिका र अन्य मुलुकमा रहेका उद्योग व्यवसायमा पनि असर पर्ने खतरा छ, येलेनले भनिन्।

अर्थमन्त्री येलेनले चीनले खासगरी सोलार व्याट्री, विद्युतीय सवारीसाधन र ब्याट्रीमा बढाएको लगानीबाट अमेरिकी अर्थतन्त्रमा पनि असर पर्ने खतरा देखिएको बताइन् । अमेरिकाले यी सामानको उत्पादन देशभित्रै गरेर आत्मनिर्भर हुन चाहेको छ, तर चीनले अतिरिक्त अनुदान दिएपछि चिनियाँ कम्पनीका सामान सस्तिएका छन् । चिनियाँ सामानमा थप कर लगाउनेतर्फ अमेरिकाले विचार गरिरहेको छ कि भन्ने प्रश्नमा येलेनले अमेरिकी उत्पादनको संरक्षण गर्ने उपायहरु हामीसँग रहेका छन् भनिन् ।

विश्वकै दुई ठूला अर्थतन्त्र भएका मुलुक चीन र अमेरिकाबीचको व्यावसायिक सम्बन्धलाई स्थायित्व प्रदान गर्न बाइडेन प्रशासनले कार्य गरिरहेको बताइएको छ । गत वर्ष जुलाई २०२३ मा निकै तनावपूर्ण सम्बन्धका बीच भएको वार्ता निकै फलदायी रहेको थियो । खासगरी ताइवान मामिलालाई लिएर दुबै देशबीचको सम्बन्धमा दरार उत्पन्न भएको थियो । तर आर्थिक तथा वित्तीय नीति सम्बन्धमा छलफल गर्न दुबै देशबीच संयुक्त कार्यसमूह गठन भएको थियो ।