सुडानको भोकमरी विरुद्ध विश्व खाद्यकार्यक्रमको चेतावनी

-



     सफल आवाज    
     चैत्र २४ गते २०८० मा प्रकाशित



खार्तूम, सुडान, २४ चैत । संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले सुडानका जनताले सबै सम्भावित मानवीय कोरिडोरमार्फत सहायताको निरन्तर प्रवाह प्राप्त नगरेमा भोकमरीको सङ्कट अझ बढ्न सक्ने चेतावनी दिएको छ ।

डब्लुएफपीका सुडानस्थित प्रतिनिधि एडी रोवले भने, “यस्तो कमजोर अवस्थामा सुडानभरी भोकमरी कुपोषणको अकल्पनीय अवस्थाको सामना गर्नुपर्ने देखिएको छ ।”

चाडबाट मानवीय कोरिडोरको अस्थायी रोक, चलिरहेको लडाइँ, मानवीय कार्गोका लागि लामो निकासी प्रक्रियालगायतका अवरोध र सुरक्षा खतराहरूले मानवतावादीलाई सुडानमा आधारभूत खाद्यान्नको आवश्यकता पूरा गर्न आवश्यक कार्यक्रम सञ्चालन गर्न असम्भव बनाएको उनले उल्लेख गरे।

रोवले खाना ढुवानीको लागि सबै कोरिडोरहरू खुला रहनु पर्ने बताउदै चाडको आड्रेदेखि पश्चिम डार्फर राज्यसम्म चरम भोकमरीको अवस्था रहेको बताए।

विश्व खाद्य कार्यक्रम र यसका साझेदारहरूलाई तत्काल सुरक्षा ग्यारेन्टी गरी डार्फर राज्यमा खाद्य आपूर्ति गर्नमा सहजता ल्याई अति समस्यामा परेका व्यक्तिलाई खाद्यान्न वितरण गर्न सकिने उनले बताए।