इरानले इजरायलमाथि गरेको आक्रमणप्रति अन्तर्राष्ट्रिय समुदायको प्रतिक्रिया

-



     सफल आवाज    
     वैशाख २ गते २०८१ मा प्रकाशित



पेरिस, २ वैशाख । इरानले शनिबार राति इजरायलमाथि गरेको आक्रमणको विश्वका विभिन्न देशले निन्दा गर्दै उक्त आक्रमणले मध्यपूर्वलाई थप अस्थिर बनाउने चिन्ता प्रकट गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले इस्लामिक गणतन्त्र इरानले इजरायलमाथि गरेको व्यापक आक्रमणको निन्दा गर्दै यसले गम्भीर तनाव निम्त्याएको बताए । उनले भने, “म यस क्षेत्रव्यापी तनावको वास्तविक खतराबारे निकै चिन्तित छु । मध्यपूर्वमा विभिन्न मोर्चामा ठूलो सैन्य मुठभेड निम्त्याउन सक्ने कुनै पनि कार्यबाट जोगिन सबै पक्षलाई आह्वान गर्दछु ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले उच्च सुरक्षा अधिकारीहरूसँगको आपतकालीन बैठकपछि इजरायललाई ‘आइरनक्लाड’ समर्थन गर्ने प्रतिबद्धता जनाए । उनले भने, “इरानले इजरायलविरुद्ध गरेको आक्रमणबारे जानकारी लिन मैले आफ्नो राष्ट्रिय सुरक्षा टोलीलाई भेटेको छु । इरान र उसका सहयोगीहरूको खतराविरुद्ध इजरायलको सुरक्षाप्रतिको हाम्रो चट्टानी प्रतिवद्धता छ,” ह्वाइट हाउसमा भएको बैठकको तस्वीर पोस्ट गर्दै बाइडनले सामाजिक सञ्जाल एक्समा लेखे।

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले एक वक्तव्य जारी गर्दै ‘लापरबाहीपूर्ण’ आक्रमणको निन्दा गर्दै यसले तनाव बढाउने र यस क्षेत्रलाई अस्थिर बनाउने खतरा रहेको बताए । इरानले फेरि एकपटक आफ्नो घरआँगनमा अराजकता छर्न खोजेको देखाएको छ । युरोपेली सङ्घका विदेश मामिला प्रमुख जोसेप बोरेलले एक्समा जारी गरेको सन्देशमा आक्रमणलाई ‘अकल्पनीय जोखिम वृद्धि र क्षेत्रीय सुरक्षाका लागि गम्भीर खतरा’ भन्दै निन्दा गरे ।

चीनको विदेश मन्त्रालयले आक्रमणलाई ‘गाजा द्वन्द्वको पछिल्लो बाछिटाको रूपमा चित्रण गर्दै संयमित हुन आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले गाजामा युद्धविरामको माग गर्दै हालै पारित गरेको प्रस्तावको कार्यान्वयनको लागि चीनले आह्वान गरेको छ । “अन्तर्राष्ट्रिय समुदाय, विशेषगरी प्रभाव भएका देशहरूलाई यस क्षेत्रको शान्ति र स्थिरताका लागि रचनात्मक भूमिका निर्वाह गर्न चीन आह्वान गर्दछ,” विदेशमन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सबै पक्षलाई संयमता अपनाउन, हिंसाबाट जोगिन र कूटनीतिक वार्तामा फर्कन आग्रह गर्दै तत्काल तनाव कम गर्न आह्वान गरेको छ । भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “इजरायल र इरानबीच बढ्दो शत्रुताले यस क्षेत्रको शान्ति र सुरक्षालाई खतरामा पारेकोमा हामी गम्भीर रुपमा चिन्तित छौं ।

साउदी अरबले सबै पक्षलाई पूर्ण संयम अपनाउन र यस क्षेत्र र त्यहाँका जनतालाई युद्धको खतराबाट जोगाउन’ आह्वान गरेको छ । उसले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्लाई ‘अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्ने दिशामा आफ्नो जिम्मेवारी वहन गर्न’ आग्रह गरेको छ । अर्जेन्टिनाका राष्ट्रपति जाभियर मिलेइको कार्यालयले एक विज्ञप्ति जारी गर्दै आक्रमणको सामना गर्न इजरायली पक्षसँग आफ्नो ‘ऐक्यबद्धता’ व्यक्त गरेको छ ।