रफाहमाथिको प्रत्याक्रमण रणनीतिक गल्तीः राष्ट्रसङ्घ महासचिव

-



     सफल आवाज    
     वैशाख २६ गते २०८१ मा प्रकाशित



न्युयोर्क, २६ वैशाख । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले रफाहमा इजराइली आक्रमणको निन्दा गर्दै उक्त आक्रमण “रणनीतिक गल्ती” हुने चेतावनी दिएका छन् ।

रफाहमाथि आक्रमण एक रणनीतिक भूल, राजनीतिक विपत्ति र अमानवीय कार्य हुने गुटेरेसले ट्वीटरमा पोस्ट गरिएको भिडियोमा उल्लेख गरे। उनले अन्तर्राष्ट्रिय समुदायलाई इजराइल–हमास युद्ध रोक्न अपिल गरे।

उनले इजराइलमाथि प्रभाव राख्ने सबै मुलुक एवं व्यक्ति र संस्थालाई गाजामा जारी त्रासदी रोक्नेतर्फ पहल गर्न आग्रह समेत गरे। महासचिव गुटेरेसले यो समय युद्धरत पक्षहरुलाई सम्झौतामा ल्याई युद्ध अन्त्य गर्ने उपयुक्त समय भएको पनि उल्लेख गरे।

मानवीय युद्धविराम, बन्धकहरूको बिनाशर्त रिहाइ तथा जीवन बचाउ सहायताको वृद्धिलाई बढावा दिन अन्तर्राष्ट्रिय समुदायको साझा जिम्मेवारी भएको राष्ट्रसङ्घीय प्रमुखको भनाई छ । प्यालेस्टिनी सिभिल डिफेन्सको रिपोर्ट अनुसार मङ्गलबार रफाहमा इजराइलले गरेको हवाई आक्रमणका कारण धेरै हताहत र घाइते भएका छन् ।

प्यालेस्टिनी आधिकारिक समाचार एजेन्सी डब्लुएएफएले रफाहमा गरिएका दुईवटा आक्रमणमा आठ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।