यसै हप्ता बेइजिङ भ्रमण गर्दै रुसी राष्ट्रपति पुटिन

-



     सफल आवाज    
     जेठ १ गते २०८१ मा प्रकाशित



बेइजिङ, १ जेठ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा यसै हप्ता चीनको भ्रमण गर्ने बेइजिङको विदेश मन्त्रालयले मङ्गलबार जनाएको छ । पुटिन बिहीबारदेखि शुक्रबारसम्म बेइजिङ भ्रमणमा रहने विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङले बताए।

रूसी नेताको छ महिनाभन्दा लामो समयमा दोस्रो चीन भ्रमण हो भने मार्चमा राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि पहिलो विदेश भ्रमण हो । पश्चिमले आफ्नो सैन्य आक्रमणलाई लिएर अभूतपूर्व प्रतिबन्धहरू लगाएका कारण रूस एक महत्त्वपूर्ण आर्थिक जीवन रेखाका रूपमा चीनमा तीव्ररूपम निर्भर रहेको विश्लेषकहरू बताएका छन् ।

बेइजिङले मस्कोसँगको आफ्नो सम्बन्धप्रतिको आलोचनालाई अस्वीकार गरेको छ । उसले ‘कुनै सीमा नभएको’ साझेदारीको प्रशंसा गरेको छ । चीनले सस्तो रूसी ऊर्जा आयात र पावर अफ साइबेरिया पाइपलाइनमार्फत स्थिर ग्यास ढुवानीसहित विशाल प्राकृतिक स्रोतहरूमा पहुँच प्राप्त गरेको छ । तथापि उक्त आर्थिक साझेदारी पश्चिममा कडा जाँचको दायरामा आउँदा चिनियाँ बैंकहरूलाई अमेरिकी प्रतिबन्धको डरले विश्वव्यापी वित्तीय प्रणालीबाट अलग गर्नसक्ने डर छ ।

त्यसैले उनीहरूले रुसी व्यवसायमाथि नियन्त्रण सुरु गरेका छन् । “चीनले आफूलाई समर्थन गर्न अझ धेरै प्रयास गरोस् भने रुस चाहन्छ । यस्तो गर्न चीन अनिच्छुक छ किनकी ऊ पश्चिमसँगको आफ्नो सम्बन्धलाई खतरामा पार्न चाहँदैन”, कार्नेगी रुस युरेसिया केन्द्रका निर्देशक अलेक्जेन्डर गाबुयेभले भने।