इन्डोनेसियामा १० औँ विश्व पानी सम्मेलन सुरू

-



     सफल आवाज    
     जेठ ७ गते २०८१ मा प्रकाशित



बाली, इन्डोनेसिया । इन्डोनेसियाको बाली टापुमा सोमबार ‘साझा समृद्धिका लागि पानी’ विषयअन्तर्गत १०औँ विश्व पानी सम्मेलन औपचारिकरूपमा सुरू भएको छ । सम्मेलनमा विश्वका धेरै देशका नेता तथा संयुक्त राष्ट्रसङ्का प्रतिनिधिहरू समेतको उपस्थिति रहेको छ ।

दशौँ विश्व पानी सम्मेलनले जल संरक्षण, स्वच्छ पानी र सरसफाई, खाद्य र ऊर्जा सुरक्षा तथा प्राकृतिक प्रकोपको न्यूनीकरण गरी चार विषयमा केन्द्रित रहने बताइएको छ ।

सम्मेलनका अवसरमा बोल्दै इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले सन् २०५० सम्ममा विश्वको खाद्यान्नमा ८० प्रतिशत योगदान गरेपनि ५० करोड साना किसानहरू खडेरीको चपेटामा पर्ने अनुमान गरे । उनले भने, “यो समयमा बालीमा भेला गरेर इन्डोनेसियाले पानीसँग सम्बन्धित विश्वव्यापी चुनौतिहरू पार गर्न गरेको सहयोगको प्रतिबद्धतालाई बलियो बनाउन विश्वले निरन्तर रूपमा हात मिलाउन सक्ने आशा गर्दछ ।”

विश्व जल परिषद्का अध्यक्ष लोइक फाउचोनले पनि पानीले मानिसहरूलाई एकजुट गर्ने तर पृथ्वीलाई मानिसहरूले क्षति पु¥याएका कारण धेरै स्थानमा पानीको अभाव बढ्दै गएको बताए। उनले भने, “यो त्रासदीबाट अवगत भएर यसलाई सुधार गरी हामी भावी पुस्तालाई आशा, इच्छा र शान्ति दिन चाहेका छौँ ।”

सम्मेलनले यस बिषयमा व्यापक छलफल गरी सुधारका लागि आवश्यक निर्णयहरू गर्नेछ ।