सिङ्गापुरमा अमेरिका र चीनका रक्षा प्रमुखबीच भेटवार्ता

-



     सफल आवाज    
     जेठ १८ गते २०८१ मा प्रकाशित



सिंगापुर १८ जेठ । अमेरिका र चीनका रक्षा प्रमुखबीच शुक्रबार सिङ्गापुरमा दुर्लभ प्रत्यक्ष वार्ता भएको छ । वार्ताले ताइवान र अन्य समसामयिक मुद्दाहरूलाई नियन्त्रणबाहिर जानबाट रोक्न मद्दत गर्ने थप सैन्य वार्ताको आशा व्यक्त गरेको छ । साङ्ग्रिला डायलगका क्रममा संयुक्त राज्य अमेरिकाका लोयड अस्टिन र चीनका राष्ट्रपति डोङ जुनबीच भएको भेटवार्ता १८ महिनामा दुई देशका रक्षा प्रमुखबीच भएको पहिलो प्रत्यक्ष वार्ता हो ।

सिङ्गापुरमा हुने सुरक्षा सम्मेलन पूर्व डोङ र अस्टिनबीच एक विलाशी होटलमा अपराह्न १ बजेभन्दा केही समयअघि वार्ता सुरु भएको अमेरिकी प्रतिनिधिमण्डलका एक सदस्यले सञ्चारकर्मीलाई जानकारी दिए । हालैका वर्षहरूमा अमेरिका र चीनबीचको सम्बन्धको चाप नाप्ने आधार बनेको वार्षिक मञ्चमा विश्वभरका रक्षा प्रमुख र अधिकारीहरू सहभागी हुँदैछन् ।

ताइवानमा सैन्य अभ्यास गरेको एक सातापछि र राष्ट्रपति लाइ चिङ–तेको सपथ ग्रहण र चीनले युद्ध हुने चेतावनी दिएको एक सातापछि यस वर्षको सुरक्षा सम्मेलन हुन लागेको हो । प्रजातान्त्रिक ताइवानको विवादलाई बेइजिङले आफ्नो भूभागको समस्या मान्दछ भने विश्वका प्रमुख दुई आर्थिक प्रतिद्वन्द्वीहरू बीचको विवादको सूचीमा शीर्ष स्थानमा छ ।

एशिया–प्रशान्त क्षेत्रमा विशेषगरी फिलिपिन्ससँग वासिङ्टनको गहिरो रक्षा सम्बन्ध र ताइवान क्षेत्रको समुद्र र दक्षिण चीन सागरमा युद्धपोत तथा लडाकू विमानको नियमित तैनाथीप्रति पनि बेइजिङ रुष्ट छ । चीनले यसलाई दशकौं लामो अमेरिकी प्रयासको एक हिस्साको रूपमा लिएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गत महिना बेइजिङ र साङ्घाईको भ्रमण गरेसँगै अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासन र चीनले आणविक शक्ति सम्पन्न प्रतिद्वन्द्वीहरूबीचको तनाव कम गर्न वार्तालाई बढावा दिइरहेका छन् । सेना–सेनाबीचको वार्ता पुनः सुरु गर्ने विषयमा मुख्य ध्यान केन्द्रित गरिएको छ ।

तत्कालीन अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको प्रतिक्रियास्वरूप चीनले सन् २०२२ मा संयुक्त राज्य अमेरिकासँग सैन्य सम्पर्क विच्छेद गरेको थियो । सन् २०२३ मा अमेरिकी हवाई क्षेत्रमा खसालिएको कथित चिनियाँ जासुसी बेलुन, ताइवानका तत्कालीन राष्ट्रपति साई इङ–वेन र पेलोसीका उत्तराधिकारी केभिन म्याकार्थीबीच भएको भेटवार्ता र ताइपेइका लागि अमेरिकी सैन्य सहायताजस्ता विषयले वासिङ्टन र बेइजिङबीच तनाव बढाएको थियो ।

गत वर्ष नोभेम्बरमा चिनियाँ नेता सी चिनफिङ र राष्ट्रपति बाइडेनबीच भएको शिखर वार्तापछि दुवै पक्ष उच्चस्तरीय सैन्य वार्ता पुनः सुरु गर्न सहमत भएका थिए ।