उत्तर कोरियासँगको रक्षा सम्झौतामा हस्ताक्षरपछि पुटिन भियतनाममा

-



     सफल आवाज    
     असार ६ गते २०८१ मा प्रकाशित



हनोई, ६ असार । उत्तर कोरियाली नेता किम जोङ उनसँग पारस्परिक रक्षा सम्झौतामा हस्ताक्षर गरेको एक दिनपछि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले भियतनामी समकक्षीसँग बिहीबार हनोईको राजकीय भ्रमणका क्रममा भेटवार्ता गरे । नेता पुटिनलाई भियतनामका नवनियुक्त राष्ट्रपति तो लाम र हनोईस्थित राष्ट्रपति भवनमा एक सैन्य गार्डले स्वागत गरे ।

उनले लामसँग वार्ता गर्नुका साथै भियतनामको सत्तारुढ कम्युनिष्ट पार्टीका शक्तिशाली महासचिव गुयेन फु ट्रोङलगायत अन्य वरिष्ठ भियतनामी नेतासँग पनि भेटवार्ता गर्नेछन् । यसअघि, नेता पुटिनले उत्तर कोरियाको भ्रमण गरेका थिए । पुटिन र किमले प्योङयाङमा भएको शिखर सम्मेलनमा आक्रमण भएमा एकअर्कालाई सहयोग गर्ने प्रतिबद्धता पनि समावेश भएको एक रणनीतिक सम्झौतामा हस्ताक्षर गरेका थिए ।

किमले युक्रेनविरुद्ध रूसको युद्धलाई आफ्नो पूर्ण समर्थन रहने प्रतिबद्धता पनि व्यक्त गरे । वासिङ्टन र उसका सहयोगीहरूले उत्तर कोरियाले युक्रेनयुद्धका लागि रूसलाई गोलाबारुद र क्षेप्यास्त्र आपूर्ति गरेको आरोप लगाउँदै आएका छन् । अमेरिकी विदेश मन्त्रालयले रुस र उत्तर कोरियाबीचको सम्बन्ध प्रगाढ हुनु ’ठूलो चिन्ताको विषय’ भएको बताएको छ भने युक्रेनका एक उच्च अधिकारीले प्योङयाङले मस्कोलाई ‘युक्रेनी नागरिकको सामूहिक हत्या’ गर्न उक्साएको आरोप लगाएका छन् ।

बुधबार २४ वर्षमा उत्तर कोरियाको पहिलो भ्रमण गर्दै पुटिनले मस्कोजस्तै कडा अन्तर्राष्ट्रिय प्रतिबन्धको सामना गरिरहेको प्योङयाङसँग ‘सैन्य प्राविधिक सहयोग’लाई आफूले इन्कार नगरेको बताए । पुटिनले भने, “आज हामी संयुक्त राज्य अमेरिका र उसका सहयोगीको ‘आधिपत्यवाद र नव–औपनिवेशिक अभ्यास’ को विरुद्ध एकसाथ लडिरहेका छौं। उत्तर कोरियाको स्थापना भएदेखि अर्थात् दोस्रो विश्वयुद्धपछि नै यी दुई देश सहयोगी रहँदै आएका छन् .

सन् २०२२ मा रूसले युक्रेनमा गरेको आक्रमणपछि पुटिनविरूद्ध पश्चिमा मुलुकहरूले विश्व मञ्चमा आवाज वुलन्द पार्ने र आक्रमणविरूद्ध एक भएपछि यी दुई देश अझ नजिक भएका हुन् । नेता किमले पुटिनलाई ‘कोरियाली जनताको सबैभन्दा प्रिय मित्र’ को संज्ञा दिँदै युक्रेनमा जारी युद्धप्रति आफ्नो ‘पूर्ण समर्थन र ऐक्यबद्धता’ व्यक्त गरे।