राष्ट्रसङ्घीय अधिकारीद्वारा गाजा, वेस्ट बैंकमा चरम सङ्कटको चेतावनी

-



     सफल आवाज    
     असार १२ गते २०८१ मा प्रकाशित



संयुक्त राष्ट्रसङ्घ, १२ असार । संयुक्त राष्ट्रसङ्घका एक अधिकारीले मङ्गलबार सुरक्षा परिषद्मा गाजा र वेस्ट बैङ्कमा बढ्दो सङ्कटको चेतावनी दिएका छन् । सुरक्षाका परिषद्को नियमित बैठकका क्रममा, मध्य पूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घका विशेष संयोजक टोर वेन्नेसल्यान्डले गाजामा ‘विनाशकारी मानवीय सङ्कटको वर्णन गर्दै नागरिकहरू शत्रुता र पूर्ण विच्छेदको प्रभावबाट पीडित भएको बताए ।

सङ्कट वृद्धिले ‘यस क्षेत्रका लागि थप पीडा र विनाशकारी परिणामतर्फ मात्र धकेलिरहेको उनले उल्लेख गरे। वेन्नेसल्यान्डले चलिरहेको इजरायली बस्ती विस्तारलाई ‘कुनै कानुनी वैधता नभएको औल्याउदै अन्तर्राष्ट्रिय कानून र सान्दर्भिक संयुक्त राष्ट्रसङ्घका प्रस्तावहरूको स्पष्ट उल्लङ्घन भएकोप्रति आपत्ति व्यक्त गरे ।”

यसै सन्दर्भमा इजरायल सरकारलाई बस्ती बिस्तारका सबै गतिविधि तुरुन्तै बन्द गर्न वेन्नेसल्यान्डले आग्रह गरे। उनले आावासीय क्षेत्रमा विस्फोटक हतियारको प्रयोगको निन्दा गरे र भने, “अस्पताल र संयुक्त राष्ट्र परिसरलगायत छिमेक र महत्त्वपूर्ण पूर्वाधारहरू नष्ट गरेको छ ।” वेन्नेसल्यान्डले प्यालेस्टिनी र इजरायलीबिचको हिंसा र आक्रमणलाई उल्लेख गर्दै हिंसाका सबै अपराधीलाई जवाफदेही बनाउन र तुरुन्त न्याय दिलाउनुपर्छ भन्ने कुरामा जोड दिए।

यसै क्रममा उनले लेबनान र इजरायली सशस्त्र फौजलाई छुट्याउने सीमा ब्लू लाइनमा इजरायल र हेजबुल्लाहबीच सम्भावित सैन्य वृद्धिमा गम्भीर चिन्ता व्यक्त गरे। वेन्नेसल्यान्डले इजरायली वित्तीय बाधाद्वारा बढेको प्यालेस्टिनी प्राधिकरणको वित्तीय सङ्कटलाई सम्बोधन नगरिए प्यालेस्टिनी वित्तीय प्रणालीलाई गम्भीर असर पर्ने चेतावनी दिँदै कब्जामा रहेको वेस्ट बैङ्कको आर्थिक र सुरक्षाका लागि वित्तीय मुद्दाहरूको समाधान गर्न तत्काल कदम चाल्न आग्रह गरे।