साङ्घाई गठबन्धन ‘निष्पक्ष बहुध्रुवीय विश्व व्यवस्थाको एक प्रमुख स्तम्भ’ : पुटिन

-



     सफल आवाज    
     असार २० गते २०८१ मा प्रकाशित



अस्ताना, कजाखस्तान, २० असार । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच द्विपक्षीय भेटवार्ता भएको छ । उनले टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग पनि भेटवार्ता गरे। रूसी नेता पुटिनले चिनियाँ राष्ट्रपतिसीसँगको छलफलमा साङ्घाई गठबन्धनले ‘निष्पक्ष बहुध्रुवीय विश्व व्यवस्थाको एक प्रमुख स्तम्भ’का रूपमा आफ्नो भूमिकालाई मजबुत बनाइरहेको बताए ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ समकक्षी सी चिनफिङ बिहीबार मध्य एशियामा हुने क्षेत्रीय शिखर सम्मेलनमा सहभागी हुनेछन् । साङ्घाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) गठबन्धनको आयोजनामा हुने क्षेत्रीय सम्मेलनमा नेताद्वय पुटिन र सीबीच नियमित भेट हुने गरेको छ र यसको पछिल्लो सत्र कजाकिस्तानको राजधानी अस्तानामा भइरहेको छ। सम्मेलनमा टर्कीएका राष्ट्रपति एर्दोगान पनि सहभागी हुनेछन् ।

उहाँको देश समूहसँग ‘वार्ता साझेदार’ हो भने अन्य मुलुकमा मध्य एशियाली पूर्व सोभियत राज्यहरू, भारत, चीन, रूस र इरान पूर्ण सदस्य रहेका छन् । चीन, भारत, इरान, रूस, कजाखस्तान, किर्गिस्तान, उज्बेकिस्तान, पाकिस्तान र ताजिकिस्तान यसका नौ पूर्ण सदस्य राष्ट्र हुन् । पश्चिमा प्रतिबन्धित इरान पूर्ण सदस्यका रूपमा सामेल भएको एक वर्षपछि युक्रेनमा रूसको युद्धलाई समर्थन गरेको कारण बहिष्कृत भएको बेलारुस बिहीबार १० औं पूर्ण सदस्य बन्नेछ ।

रूस र चीन दुवैले विश्व मञ्चमा अमेरिकी नेतृत्वको ‘आधिपत्य’ को विरोध गर्दै आएका छन् । मस्कोलाई समर्थन गरेको भन्दै पश्चिमा मुलुकबाट आलोचना खेपिरहेका सीले बुधबार पुटिनलाई आफ्नो ‘पुरानो मित्र’लाई फेरि भेट्न पाउँदा खुसी लागेको बताए ।

टर्कीएका राष्ट्रपति एर्दोगानले बुधबार पुटिनलाई टर्कीमा निमन्त्रणा गर्दै युक्रेनमा ‘दुवै पक्षलाई सन्तुष्ट पार्न सक्ने निष्पक्ष शान्ति’ का लागि आह्वान गरेका थिए । उहले युद्धरत देशहरूबीच मध्यस्थता गर्ने प्रयास गरेका छन्।