इरानमा दोस्रो चरणको राष्ट्रपतीय निर्वाचनको लागि शुक्रबार मतदान

-



     सफल आवाज    
     असार २१ गते २०८१ मा प्रकाशित



तेहरान, २१ असार । इरानमा गत मे महिनामा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका इब्राहिम रायसीको उत्तराधिकारीका लागि सुधारवादी उम्मेदवार मसूद पेजेस्कियान र संस्थापन पक्षधर सइद जलिलीबीचको प्रतिस्पर्धाका लागि शुक्रबार मतदान सुरू भएको इरानको गृह मन्त्रालयले जनाएको छ ।

इस्लामिक गणतन्त्रका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले स्थानीय समयअनुसार बिहान ८ ः०० बजे मतदान सुरु हुँदा मतदान गरेको सरकारी टेलिभिजनले जनाएको छ । गृहमन्त्री अहमद वाहिदीले सरकारी टिभीलाई बताउनुभयो, “हामी १४ औं राष्ट्रपतीय निर्वाचनको दोस्रो चरणको मतदान शुक्रबार बिहानैदेखि सुरु भएको छ ।

निर्बाचनले देशका ५८ हजार ६३८ मतदान केन्द्र र विदेशका सबै मतदान केन्द्रमा दुई उम्मेदवारमध्येबाट भावी राष्ट्रपति चयन गर्नेछ ।” गाजामा जारी युद्धलाई लिएर क्षेत्रीय तनाव बढेको, इरानको आणविक कार्यक्रमलाई लिएर इरानको पश्चिमा मुलुकसँगको विवाद र प्रतिबन्धग्रस्त अर्थतन्त्रको अवस्थाप्रति जनताको असन्तोषको पृष्ठभूमिमा मतदान हुन लागेको हो ।

इरानको निर्वाचन आयोगका अनुसार गत हप्ताको पहिलो चरणको निर्वाचनमा एक मात्र सुधारवादी उम्मेदवार पेजेस्कियानले सबैभन्दा बढी अर्थात् ४२ प्रतिशत मत प्राप्त गर्नुभएको थियो । पूर्व आणविक वार्ताकार जलिलीले करिब ३९ प्रतिशत मतका साथ दोस्रो स्थानमा आउनुभएको थियो ।

इरानको संविधानले व्यवस्था गरे अनुसार कुनै पनि उम्मेदवारको ५० प्रतिशत मत नपुगेको अवस्थामा दुई प्रमुख प्रतिस्पर्धीबीच निर्बाचन गनै व्यवस्था छ ।