गाजा शहरस्थित राष्ट्रसङ्घीय निकायको भवनमा इजरायली आक्रमण

-



     सफल आवाज    
     असार २६ गते २०८१ मा प्रकाशित



गाजा, २६ असार । चिकित्सा स्रोत र सेनाका अनुसार इजरायली सेनाले बुधबार गाजामा थप घातक आक्रमण गरेको छ । ‘आक्रमण संयुक्त राष्ट्रसङ्घीय निकाय भवन भित्र सञ्चालनमा रहेको हमास लडाकूहरूको केन्द्रलाई लक्षित गरी’ भएको इजरायली सेनाले जानकारी गराएको छ । सेनाले मङ्गलबारको आक्रमणको थप समीक्षा गरिरहेको पनि बताएको छ ।

आक्रमणमा दक्षिणी खान युनिस क्षेत्र नजिकैको विद्यालयमा कम्तिमा २९ जनाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । विद्यालय भवनमा विगत चार दिनमा यो चौथो आक्रमण हो । बुधबार बिहान मध्य सहर नुसिरातको एउटा घरमा भएको बम विस्फोटमा चार जनाको मृत्यु हुनुका साथै एक जना गम्भीर घाइते भएको अस्पताल स्रोतले जनाएको छ ।

यसैगरी खान युनूस नजिकैको बानी सुहैलाको घरमा भएको अर्को आक्रमणमा दुई जनाको मृत्यु भएको र छ जना घाइते भएको अस्पताल स्रोतले जनाएको छ । इजरायलले युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा दशौं हजार मानिसहरूलाई खाली गर्ने आदेश जारी गरेपछि गाजा सहर र दक्षिणी गाजामा हवाई तथा स्थल आक्रमणहरू बढाएको छ ।

अक्टोबर ७ मा हमासको आक्रमणपछि जारी युद्धविरामबारे इजरायली अधिकारीले बुधबार कतारमा वार्ता सुरु गरेपछि सैन्य आक्रमण बढेको हो । इजरायली सेनाले गाजामा एक रातको आक्रमणले प्यालेस्टिनीहरूका लागि संयुक्त राष्ट्र सङ्घी निकाय (युएनआरडब्लुए) को मुख्यालय भित्रबाट सञ्चालित हमास र इस्लामिक जिहादलाई लक्षित गरेको बताएको छ ।