प्रधानमन्त्री मोदी रुस र अस्ट्रियाको भ्रमण सकेर स्वदेश फिर्ता

-



     सफल आवाज    
     असार २७ गते २०८१ मा प्रकाशित



नयाँदिल्ली, २७असार । प्रधानमन्त्री नरेन्द्र मोदी रुस र अस्ट्रिया दुई राष्ट्रको भ्रमण सकाएर बिहीबार बिहान नयाँ दिल्ली आएका छन्। भ्रमणको समापन पछि, प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा एउटा पोस्ट साभार गरी अस्ट्रियाको चान्सलर कार्ल नेहम्मर, सरकार र जनतालाई न्यानो स्वागत र आतिथ्यका लागि धन्यवाद व्यक्त गरे ।

उनले भ्रमण अत्यधिक फलदायी र ’ऐतिहासिक’ भएको पनि उल्लेख गरेका छन् । अस्ट्रियाको भ्रमण ऐतिहासिक र अत्यधिक फलदायी भएको भन्दै राष्ट्रहरूबिचको मित्रतामा नयाँ जोश जोडिएको जनाएका छन् । भियनामा हुँदा विविध कार्यक्रमहरूमा भाग लिएकोमा खुसी व्यक्त गर्दै उनले च्यान्सेलर, अस्ट्रिया सरकार र जनताको आतिथ्य र स्नेहका लागि धन्यवाद दिए ।

प्रधानमन्त्री मोदीले बुधबार भियनामा एक सामुदायिक कार्यक्रमलाई सम्बोदन गर्दै उनीहरूको मित्रताको ७५वर्ष पूरा भएको ऐतिहासिक अवसरको प्रतीक्षा समाप्त भएको बताए । यसबाहेक, उनले ४१ वर्षको अन्तरालपछि भारतीय प्रधानमन्त्रीको रूपमा अस्ट्रियाको भ्रमण गर्नु एउटा ऐतिहासिक क्षण भएको स्वीकार गर्दै उत्साहपूर्ण स्वागतमा कृतज्ञता र आनन्द पनि व्यक्त गरे ।

एउटा सामुदायिक कार्यक्रममा प्रधानमन्त्री मोदी मञ्चमा पुगेपछि मानिसहरूले ’मोदी, मोदी “नाराका साथ स्वागत गरेका थिए । समुदायले प्रधानमन्त्री मोदीलाई न्यानो स्वागत गरी कार्यक्रमले भारत र यसका प्रवासीहरू बिचको बलियो सम्बन्धलाई प्रदर्शन गर्याे । यसपछि, अस्ट्रियाका चान्सलर कार्ल नेहम्मरले प्रधानमन्त्री मोदीको अस्ट्रियाको सफल राजकीय भ्रमणको आयोजना गर्नमा संलग्न टोलीहरूको प्रशंसा गरे ।

सामाजिक सञ्जाल एक्सको पोस्टमा, चान्सलर नेहम्मरले विदेश मामिला मन्त्रालय, संघीय सेना, प्रहरी लगायतको समर्पण र परिश्रमलाई स्वीकार गरे । उनले उनीहरूको व्यावसायिक योजना, सङ्गठन र भ्रमणको कार्यान्वयनका लागि धन्यवाद दिए ।