अमेरिकाले जापानमा सैन्य कमाण्ड संरचनाको स्तरोन्नती गर्ने

-



     सफल आवाज    
     श्रावण १३ गते २०८१ मा प्रकाशित



टोकियो, १३ साउन । अमेरिकाले जापानमा सैन्य कमाण्ड संरचनाको स्तरोन्नती गर्ने । वासिङ्टन र टोकियोले सैन्य सहयोगलाई थप मजबुत बनाउँदै अमेरिकी कमाण्ड संरचनामा स्तरोन्नती गर्ने भएका छन् ।

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले आइतबार यो योजनाको घोषणा गर्नेछन् । अमेरिकाबाट करिब छ हजार ५०० किलोमिटर टाढा रहेको जापानमा हवाईस्थित इन्डो–प्यासिफिक कमान्डअन्तर्गत करिब ५४ हजार अमेरिकी सैनिकहरू छन् ।

आइतबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग टोकियोमा आफ्ना समकक्षीसँग ‘टु प्लस टु’ वार्तामा सामेल भई रक्षामन्त्री अस्टिनले थ्री स्टार कमान्डरको नेतृत्वमा नयाँ ज्वाइन्ट फोर्स हेडक्वार्टरको घोषणा गर्ने एक अमेरिकी सैन्य अधिकारीले बताएका छन् ।

यसले जापानको सबै सशस्त्र बलहरूको लागि योजनाबद्ध संयुक्त अपरेसन कमान्डको समकक्षको रूपमा काम गर्नेछ र ताइवान वा कोरियाली प्रायद्वीपमा सङ्कटको अवस्थामा दुई सेनालाई थप फुर्तीला बनाउनेछ । चीनप्रतिको असहजता र उत्तर कोरियाप्रतिको चिन्ताका कारण जापानले हालैका वर्षहरूमा आफ्नो कडा शान्तिवादी अडान त्याग्दै, रक्षा खर्च बढाउने र ‘काउन्टरस्ट्राइक’ क्षमता हासिल गर्न अग्रसर हुँदै आएको छ ।

गत अप्रिलमा अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रधानमन्त्री फुमियो किशिदाले ह्वाइट हाउसमा भएको शिखर सम्मेलनमा सहकार्यमा ‘नयाँ युग’को घोषणा गरेका थिए । यसै महिना ब्लिन्केन र अस्टिनले जापान र फिलिपिन्ससँगको अर्को ‘टु प्लस टु’ वार्ता गरी एक अर्काको क्षेत्रमा सेना तैनाथ गर्न अनुमति दिने एक रक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए ।