अमेरिकी राष्ट्रपति र प्रथम महिलाद्वारा वायनाड पहिरोमा परी ज्यान गुमाउनेप्रति समवेदना प्रकट

-



     सफल आवाज    
     श्रावण १९ गते २०८१ मा प्रकाशित



वासिङ्टन डीसी, १९ साउन । अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले केरलाको वायनाडमा गएको पहिरोमा तीन सय बढीको ज्यान गएकोमा भारतप्रति समवेदना व्यक्त गरेका छन् ।

“जिल र म भारतको केरला राज्यमा भएको घातक पहिरोबाट प्रभावित सबैप्रति गहिरो समवेदना प्रकट गर्दछौं”, ह्वाइट हाउसले एक आधिकारिक विज्ञप्तिमा भन्यो ।

“हामी शोक संताप्त परिवारजनमा धैर्य धारणा गर्ने सामर्थ्य मिलोस् भनी प्राथना गर्दै हार्दिक समवेदना प्रकट गर्दछौँ । यस कठिन समयमा हामी भारतीय जनताको साथमा छौँ”, ह्वाइट हाउसले भनेको छ ।

लगातार वर्षापछि जुलाई ३० मा वायनाड जिल्लास्थित मेप्पडीको पहाडी क्षेत्रमा गएको पहिरोमा २१० जनाको शव फेला परेको छ । ज्यान गुमाउनेमध्ये हालसम्म १४६ जनाको मात्र शव पहिचान भएको छ ।

घाइते भएकामध्ये १८७ व्यक्तीलाई अस्पतालबाट डिस्चार्ज गरिएको अधिकारीहरूले शुक्रबार बताएका छन् ।