भारत र अष्ट्रेलियाबीच समुद्री सुरक्षा वार्ता सम्पन्न

-



     सफल आवाज    
     श्रावण २९ गते २०८१ मा प्रकाशित



नयाँ दिल्ली, २९ साउन । भारत र अस्ट्रेलियाबीच छैटौँ सामुद्रिक सुरक्षा संवाद मङ्गलबार क्यानबेरामा सम्पन्न भएको विदेश मन्त्रालयले जनाएको छ ।

भारतीय प्रतिनिधिमण्डलको नेतृत्व विदेश मन्त्रालयको निशस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षा मामिलाका सहसचिव मुआनपुई साइआवीले गरेका थिए । अष्ट्रेलियाली प्रतिनिधिमण्डलको नेतृत्व दक्षिण एसिया तथा मध्य एसिया डिभिजनका प्रथम सहायक सचिव सारा स्टोरीले गरेकी थिइन्।

दुवै पक्षबीच समावेशी विकास र विश्वव्यापी कल्याणका लागि अनुकूल सुरक्षित समुद्री वातावरण कायम राख्ने तरिकाहरूबारे छलफल भएको छ ।

उनीहरुले इन्डो–प्यासिफिक क्षेत्रमा समुद्री सुरक्षा वातावरण, मानवीय सहायता र विपद् राहत (एचएडीआर) समन्वय, क्षेत्रीय र बहुपक्षीय संलग्नता र समुद्री स्रोतहरूको दिगो प्रयोगलगायत आपसी चासोका विभिन्न विषयहरूमा विचार आदानप्रदान गरे।

दुवै पक्षले यी क्षेत्रहरूमा आफ्नो द्विपक्षीय सहयोगलाई अझ सुदृढ पार्ने तरिका र साधनबारे पनि छलफल गरे। वार्ताको अर्को चरण पारस्परिक रूपमा सुविधाजनक मितिमा नयाँ दिल्लीमा आयोजना गर्न दुई देश सहमति भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।