डब्लुएचओद्वारा एमपक्स खोपको उत्पादन बढाउन आग्रह

-



     सफल आवाज    
     भाद्र १ गते २०८१ मा प्रकाशित



जेनेभा, १ भदौ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले शुक्रबार एमपक्स भाइरसको थप खतरनाक भेरियन्टको फैलावटलाई नियन्त्रण गर्न खोपको उत्पादन बढाउन उत्पादकहरुलाई आग्रह गरेको छ ।

डब्लुएचओले प्रजातान्त्रिक गणतन्त्र कङ्गोबाट सुरु भएर अन्य देशमा फैलिएपछि एमपक्सलाई बुधबार दुई वर्षमा दोस्रोपटक विश्वव्यापी सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको हो । “एमपक्सको प्रकोपलाई नियन्त्रण गर्न हामीलाई साच्चै नै खोपको उत्पादन बढाउन आवश्यक छ”, डब्ल्यूएचओकी प्रवक्ता मार्गरेट ह्यारिसले पत्रकारहरूलाई भने।

डब्लुएचओले एमपक्स खोपको भण्डार भएका देशलाई हाल प्रकोप फैलिएको देशलाई वितरण गर्न आग्रह गरिरहेको छ । हालैका वर्षहरूमा डेनमार्कको औषधी उत्पादक बवेरियन नर्डिकद्वारा उत्पादित एमभीए–बीएन र जापानको एलसी१६ गरी दुई प्रकारका एमपक्स विरुद्धको खोप प्रयोग भइरहेको छ ।

ह्यारिसले ५ लाख एमभीए–बीएन खोप हाल भण्डारमा रहेको र आवश्यकता अनुसार २४ लाख खोप तत्काल उत्पादन गर्न सकिने बताएका छन्। सन् २०२५ का लागि खरिद अनुरोधमा थप १ करोड खोप उत्पादन गर्न सकिने उनले बताए। “एलसी१६ खोपको भने व्यावसायीकरण गरिएको छैन ।

यो जापान सरकारको तर्फबाट उत्पादन गरिएको हो । यस खोपको पर्याप्त भण्डार छ”, ह्यारिसले भने। डब्ल्यूएचओले एलसी१६ खोपको वितरणका लागि टोकियोसँग सहकार्य गरिरहेको बताएको छ । ‘द डक्टर्स विदाउट बोर्डर्स च्यारिटी’नामक संस्थाले खोपको भण्डार भएका तर भाइरसको कुनै प्रकोप नभएका देशहरूले अफ्रिकाका प्रभावित देशलाई सकेसम्म धेरै खोप वितरण गर्न आग्रह गरेको छ ।