भेनेजुएलाकोे राजनीतिक सङ्कटप्रति ईयूद्वारा चासो व्यक्त

-



     सफल आवाज    
     भाद्र ९ गते २०८१ मा प्रकाशित



युरोपेली सङ्घ (इयू) का विदेश नीति प्रमुख जोसेप बोरेलले भेनेजुएलामा गहिरिँदै गएको राजनीतिक सङ्कटप्रति आफूहरु ‘अत्यन्त चिन्तित’ रहेको बताएका छन्।

बोरेलले भने, “काराकासले अझै पनि चुनावी प्रक्रियाको मूल्याङ्कन गर्न आवश्यक प्रमाण उपलब्ध गराएको छैन । विपक्षीले आफ्नो उम्मेदवारले जित हासिल गरेको दाबी गर्दै आएका छन् । ईयूका उच्च कूटनीतिज्ञले भने, “पूर्ण र स्वतन्त्र रूपमा प्रमाणित गर्न सकिने नतिजालाई मात्र स्वीकार र मान्यता दिइनेछ ।”

बोरेलका अनुसार मतदान केन्द्रको केही रेकर्डअनुसार विपक्षी नेता एडमण्डो गोन्जालेज उरुटिया राष्ट्रपति चुनावमा महत्वपूर्ण बहुमतका साथ विजयी भएको देखिन्छ । उनले भेनेजुएलाका जनताको इच्छाको सम्मान सुनिश्चित गर्न मतदान केन्द्रको रेकर्ड पूर्ण रूपमा प्रकाशन गर्न आग्रह गरे ।

यसैबीच, देशका शक्तिशाली नेता निकोलस मडुरोले गोन्जालेज उरुटियालाई पक्राउ गर्न निर्देशन गरेका छन् । जुलाई ३० मा विपक्षी समूहले भब्य जुलुश निकालेपछि उरूटिया सार्वजनिक रूपमा देखिएका छैनन् । अभियोजकहरूले उनलाई शनिबार सोधपुछका लागि बोलाएका थिए ।

जुलाई २८ मा भएको मतदान विवादित भएपछि भएको प्रदर्शनमा २७ जनाको मृत्यु भएको थियो भने १९२ जना घाइते भएका थिए । मतदानका क्रममा भएका झडपका क्रममा करिब दुई हजार ४०० व्यक्ति पक्राउ परेका थिए ।