बङ्गलादेशमा बाढीले ५९ जनाको मृत्यु, हजारौँ घरबारविहीन

-



     सफल आवाज    
     भाद्र १७ गते २०८१ मा प्रकाशित



ढाका १७ भदौ । बङ्गलादेशमा बाढीका कारण ११ प्रभावित जिल्लामा कम्तीमा ५९ जनाको मृत्यु हुनुका साथै ५३ लाखभन्दा बढी मानिस प्रभावित भएको द डेली स्टारले जनाएको छ ।

द डेली स्टारका अनुसार कम आय भएका किसानहरूले बाली नालीका साथै बाढीका कारण घरलगायत जीविकोपार्जनको आधारसमेत गुमाएका छन् ।

बाढीले आफ्नो माटोको घर बगाएपछि बस्ने ठाउँ नभएकाले छिमेकीकोमा शरण लिनुपरेको मौलवीबाजारको कुलौरा उपजिल्लाको मिरपारा गाउँकी ६५ वर्षीया तबाह नुरुन बेगमले बताइन्।

वर्षापछिको बाढीले मनु नदीको किनारमा तटबन्ध भत्किँदा घर पानीमा डुबेकाले हाल बाढीको पानी घटे पनि क्षतिग्रस्त घर फर्कन नसकेको सोही गाउँका अटोरिक्शा चालक सुजान मियाले बताए ।

मिरपाराका बासिन्दा जमशेद अलीले एक मात्र आम्दानीको स्रोत तरकारी बगैँचा बगाएकाले परिवार कसरी बचाउने भन्ने चिन्ता भएको उल्लेख गरे।

मौलवीबाजार जिल्ला राहत तथा पुनर्वास अधिकारी मोहम्मद सादु मियाका अनुसार जिल्लामा हालै आएको बाढीबाट करिब आठ हजार सात सय ८६ घर क्षतिग्रस्त भएका छन् । उनले बाढी पीडितको पुनःस्थापनाको माग गर्दै सम्बन्धित उच्च अधिकारीहरूलाई पत्र पठाएको बताए ।