अगस्टमा विश्वव्यापीरूपमा उच्च तापमान रेकर्ड

-



     सफल आवाज    
     भाद्र १९ गते २०८१ मा प्रकाशित



सिङ्गापुर, १९ भदौ । अगस्ट महिनामा विश्वव्यापी तापमान सूचकाङ्कमा उच्च रेकर्ड कायम भएपछि बढ्दो तापक्रमका कारण विश्वव्यापी ‘रेड अलर्ट’ जारी गर्नुपर्ने अवस्था आएको राष्ट्रसङ्घको मौसम तथा जलवायुसम्बन्धी निकाय (डब्ल्युएमओ)का प्रमुखले बुधबार बताए ।

विश्वमा लगातार दोस्रो वर्ष अगस्टमा तापक्रमको रेकर्ड औसतभन्दा बढी भएको युरोपेली युनियनको जलवायु अनुगमनको प्रारम्भिक तथ्याङ्कले देखाएको छ । मौसम विज्ञान निकायहरूका अनुसार यो अवधिमा अष्ट्रेलिया, जापान, चीनका केही भाग तथा नर्वेमा अहिलेसम्मको सबैभन्दा तातो अनुभव गरिएको छ ।

तथ्याङ्कअनुसार पछिल्लो समयमा अपेक्षाभन्दा धेरै तापक्रम बढेको र यो हामीले तापक्रम सन्तुलनका लागि जनाएको प्रतिवद्धताभन्दा विपरित भएको डब्ल्युएमओका प्रमुख सेलेस्ट साउलोले बताए। ईयूको ‘कोपर्निकस क्लाइमेट चेन्ज सर्भिस’ले गत वर्ष अगस्टमा मापन गरिएको रेकर्ड १६.८२ डिग्री सेल्सियसभन्दा माथि रहेको उनले बताए।

सिङ्गापुरमा स्थानीय मौसम विज्ञान निकायहरूको क्षेत्रीय जलवायुसम्बन्धी एक कार्यक्रममा बोल्दै निर्धारित ‘मापदण्ड’ पार भइसकेको उनले बताए। तापक्रम वृद्धि नियन्त्रण गर्न थप स्रोतहरू चाहिने उल्लेख गर्दै साउलोले मौसम विज्ञान निकायका लागि राम्रो निगरानी र समर्थनका लागि पनि आह्वान गरे।