रूसले युक्रेनमा आक्रमण गर्दा ५१ जनाको मृत्यु : घटनाको चौतर्फी निन्दा

-



     सफल आवाज    
     भाद्र १९ गते २०८१ मा प्रकाशित



पोल्ताभा, युक्रेन, १९ भदौ  । रूसले युक्रेनी सहर पोल्ताभामा मङ्गलबार गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तिमा ५१ जनाको मृत्यु हुनुका साथै सयौँ घाइते भएको अधिकारीहरूले बताएका छन् । अधिकारीहरुका अनुसार यो आक्रमण दुई देश बाीचको साढे दुई वर्षको युद्ध अवधिको सबै भन्दा घातक आक्रमण हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त आक्रमणको निन्दा गरे। रूसले सैन्य प्रशिक्षण सुविधा तथा नजिकैको अस्पताललाई केन्द्रित गरी प्रहार गरेको किएभले जनाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्दोश युक्रेनीको हत्या गर्ने ‘रूसी पक्षलाइ जवाफदेही बनाउने वाचा’ गरेका छन् भने उद्धारकर्ताहरूले आक्रमणबाट प्रभावित भग्नावशेष हटाउने काम गरिरहेका छन् ।

आक्रमणबाट प्रभावित भवनको भग्नावशेषबाट मानिसहरूको ज्यान बचाउनका लागि यथाशक्य प्रयास गरिरहेको जेलेन्स्कीले बताए । यो गम्भीर घटनाप्रति अमेरिका, जर्मनी र बेलायतलगायतका देशले गम्भीर चासो व्यक्त गरेका छन् ।

यसैबीच अमेरीकी राष्ट्रपति बाइडेनले किएभको रक्षा गर्न आवश्यक हवाई रक्षा प्रणाली र क्षमताहरू प्रदान गरी सैन्य सहायता जारी राख्ने वाचा गरेका छन्। बेलायती विदेश सचिव डेभिड ल्यामीले उक्त आक्रमणलाई घृणित कार्य भने । जर्मन विदेश मन्त्री एनालेना बेरबकले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको क्रूरताको ‘कुनै सीमा नभएको’ बताए ।

मङ्गोलियाको भ्रमणपछि मङ्गलबार पुटिनले रूसको भ्लाडिभोस्तोकको यात्रा गरेको क्रेमलिनले जनाएको छ । पुटिनको मङ्गोलिया भ्रमण युक्रेनमा भएको युद्धसँग सम्बन्धित गिरफ्तारीको वारेन्ट जारी भएपछि अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) का सदस्यसँगको पहिलो भ्रमण थियो ।