रुसी आक्रमणमा परी पोल्टावामा मृत्यु हुनेको सङ्ख्या ५८ पुग्यो

-



     सफल आवाज    
     भाद्र २३ गते २०८१ मा प्रकाशित



किएभ, २३ भदौ । गत साता पोल्टावा सहरमा भएको ठूलो रुसी मिसाइल आक्रमणमा घाइते भएका थप तीन जनाको मृत्यु भएपछि मर्नेहरूको सङ्ख्या ५८ पुगेको युक्रेनले आइतबार बताएको छ ।

सेन्ट्रल सिटीमा सेप्टेम्बर ३ मा भएको आक्रमण पछिल्ला केही महिनामा सबैभन्दा घातक रुसी आक्रमण थियो । उक्त आक्रमणमा सैन्य शिक्षा संस्थानलाई लक्षित गरिएको थियो । युक्रेनी अधिकारीहरूले मृतकहरूमा कति सैनिक वा नागरिक थिए भन्नेबारेमा बताएको छैन ।

पोल्टावाका गभर्नर फिलिप प्रोनिनले टेलिग्राम पोस्टमा भन्नुभयो, “दुःखको कुरा, सेप्टेम्बर ३ मा पोल्टावामा भएको रुसी आक्रमणमा घाइते भएका थप तीन जनाको अस्पतालमा मृत्यु भएको छ, मृतकको सङ्ख्या बढेर ५८ पुगेको छ ।” उक्त आक्रमणको किएभका अन्तर्राष्ट्रिय समर्थकहरूले व्यापक आलोचना गरेका छन् ।

रुसले बाहिर भइरहेको सैन्य समारोहलाई लक्षित गरेको रिपोर्टहरू बाहिरिएपछि किएभमा केही आक्रोश बढेको छ । आक्रमणपछि युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले पश्चिमी मुलुकहरूसँग हवाई रक्षा प्रणाली प्रदान गर्न आफ्नो आह्वानलाई दोहोर्याएका छन् ।