सङ्कट बढ्दै र द्वन्द्वहरू तीव्र हुँदै गर्दा विश्व नेताहरू संयुक्त राष्ट्रसङ्घमा भेला हुँदै

-



     सफल आवाज    
     असाेज ४ गते २०८१ मा प्रकाशित



संयुक्त राष्ट्रसङ्घ, ४ असोज  । संयुक्त राष्ट्रसङ्घको न्युयोर्क मुख्यालयमा आइतबारदेखि सुरु हुने सङ्गठनको वार्षिक प्रतिष्ठित सम्मेलनमा भाग लिन विश्वका नेताहरू भेला हुँदैछन् । सम्मेलन तीव्र युद्ध, बढ्दो लोकप्रियवाद र कूटनीतिक गतिरोधको विस्फोटक पृष्ठभूमिमा हुँदैछ ।

गाजामा जारी युद्ध, मध्यपूर्वमा चर्किएको बढ्दो तनाव, सुडानको गृहयुद्धमा भोकमरीको अवस्था र युक्रेनमा जारी द्वन्द्वजस्ता समस्याहरू राष्ट्रसङ्घको मुख्य कार्यक्रम महासभाको उच्चस्तरीय सातामा भाग लिने राष्ट्रपति र प्रधानमन्त्रीको कार्यसूचीमा परेका छन् ।

यद्यपि राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले यस साता विश्व ‘तेस्रो विश्वयुद्धलाई पन्छाउन सक्षम हुने’ मा जोड दिए। “हामीले जे देखिरहेका छौँ त्यो द्वन्द्व र दण्डहीनताको भावनामा वृद्धि हो”, उनले एक ब्रिफिङमा भने। “यो सम्मेलन यो भन्दा अझ महत्त्वपूर्ण र चुनौतीपूर्ण क्षणमा आउन सक्दैनथ्यो”, वासिङ्टनकी राष्ट्रसङ्घीय राजदूत थोमस–ग्रिनफिल्डले भने, “ध्यान र कारबाहीको माग गर्ने सङ्कट र द्वन्द्वका सूची बढ्दै जाने मात्र देखिन्छ तर हामी त्यसो गर्न सक्षम छैनौँ ।”

कूटनीतिको विश्वकप भनिने यो भव्य सम्मेलनले विश्वभर द्वन्द्व र गरिबीमा फसेका लाखौँ मानिसका लागि के हासिल गर्न सक्छ भन्ने स्पष्ट छैन । इजरायलका नेता बेन्जामिन नेतान्याहू, प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बास र इरानका नयाँ राष्ट्रपति मसुद पेजेश्कियान उपस्थित हुने भएकाले ‘नेताहरूले के भन्दैछन् भन्ने कुरामा गाजा स्पष्टतः यी द्वन्द्वमध्ये सबैभन्दा प्रमुख हुने’ इन्टरनेसल क्राइसिस ग्रुपका रिचार्ड गोवनले बताए।

उनले तय गरिएको कूटनीतिक भाषण र मुद्राले ‘वास्तवमा धरातलीय स्तरमा हुने घटनाहरूमा ठूलो फरक नपार्ने’ बताए। गाजामा युद्ध अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि सुरु भएको थियो । उक्त आक्रमणमा आधिकारिक इजरायली आँकडाहरूमा आधारित एएफपी गणनाअनुसार एक हजार दुई सयभन्दा बढी मानिसको मृत्यु भयो ।

हमास नियन्त्रित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्ध सुरु भएयता गाजामा इजरायली सैन्य अभियानमा ४१ हजार दुई सय ७२ भन्दा बढी प्यालेस्टिनी मारिएका छन् । संयुक्त राष्ट्रसङ्घले यी आँकडालाई विश्वसनीय मानेको छ ।