कास्की पोखरा हस्तकला संघको अध्यक्षमा सीता गुरुङ निर्वाचित

- वर्षेनि १२ अर्बकाे वस्तु निर्यात हुन्छ : महासंघका अध्यक्ष शाक्य

-



     सफल आवाज    
     असाेज १५ गते २०८१ मा प्रकाशित



पोखरा, १५ असोज । कास्की पोखरा हस्तकला संघको १४ औं अधिवेशन तथा पाँचौ अधिवेशनबाट सीता गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।

स्वस्तिक हस्तकला उद्योग बगर १ पोखराकी संचालक रहेकी गुरुङ संघको संस्थापक सचिव तथा निवर्तमान उपाध्यक्ष पनि हुन् । उपाध्यक्षमा गोमा ढकाल, सचिवमा पम्फा थापा, कोषाध्यक्षमा रजनी कोईराला चयन भएका छन् ।

सदस्यहरुमा मिम रानामगर, नीरा पौडेल, होम कुमारी पुन, उषा वरुवाल र युवराज लामिछाने रहेका छन् । निर्वाचन समितिमा संयोजक विष्णु वराल, सदस्य मीना खड्का र शुभद्रा थापा रहेका थिए ।

यसअघि कार्यक्रममा सहभागि सबैलाइ उपाध्यक्ष सीता गुरुङले स्वागत गर्दै १४ वर्ष अघि ९ जना साथीहरु मिलेर हीरा भट्टराइकाे अध्यक्षतामा संघको स्थापना गरेकाे स्मरण गर्दै निरन्तर रुपमा हस्तकलाकाे उत्पादन र सिप सिकाइ तथा प्रवर्धनमा लागिरहेकाे बताइन् । साे अवसरमा उनले मेला लाग्दाकाे समयमा मात्रै नभइ हामी उद्यमीहरुलाइ उचित सहयाेग र विशेष व्यवस्था ठूला प्रतिष्ठान, संघ र सरकारबाट हुनुपर्नेमा जाेड दिइन् ।

कार्यक्रमकाे उद्घाटन गर्दै नेपाल हस्तकला महासंघका केन्द्रीय अध्यक्ष्य प्रचण्डमान शाक्यले नेपाली हस्तकलाको माग देश विदेशमा बढिरहेको बताए । उनले नेपाली हस्तकलाका वस्तुकाे ब्राण्डिङ, गुणस्तर र माग अनुसारको पुर्याउन सके आर्थिक फाइदा लिन कुनै कठिनाई नभएको बताए ।

अहिले पनि नेपाली हस्तकलाका साम्रीहरु निर्यात भईरहेका छन् । तर पुग्दो संख्यामा छैन । नेपालबाट वार्षिक १२ अर्बको सामग्री निर्यात भईरहेको जनाउदै शाक्यले सरकारले पनि यसलाई अझैं व्यवस्थित बनाउन वागमतिको झैं बाँकी प्रदेशमा कानुन बनाएर सहयोग बढाउनु पर्ने बताए ।

पोखरा हस्तकला संघ र यहाँका महिला उद्यमीहरुको कामको उच्च प्रशंसा गर्दै शाक्यले महासंघले आवश्यक सहयोग गर्दै आएको र भविष्यका दिनहरुमा निरन्तरता दिने बताए ।

विशेष अतिथि पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष गोकर्ण कार्किले संघको अधिवेशनमा सम्मानित हुन पाउँदा खुसि लागेको र पोखरा उद्योग वाणिज्य संघ महिला दिदिबहिनीहरुको उद्यमशिलताको क्षेत्रमा हातेमालो गरेर अगाडी बढ्ने बताए ।

सो अवसरमा कार्किले पोखराका टोल टोलमा कोशेली घरको अवधारणा बनाएर जानुपर्ने र हप्तामा एकदिन प्रत्येक समाजघरमा तय गरिएको कोशेली घरमा मेलाको बन्दोबस्त मिलाउनु पर्नेमा जोड दिए । संस्थागत रुपमा उद्योग वाणिज्य संघले कोशेली घरको लागि योजनामा रहेको बताउँदै रैथाने तथा कृषि उपजहरुको उत्पादनमा जोड दिए ।

हामीले महानगर र सरकारसंग अब साझेदारी गरेर जानुपर्छ, उनले भने, पोखराबाट शुरुआत पनि भएको छ । ७५३ पालिकामध्ये पोखरा महानगरपालिकाले पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्याेग वाणिज्य संघ लगायतका नीजि क्षेत्रका संघ, संस्थाहरुसंग मिलेर तालिम तथा उद्ययमशिलताका कार्यमा जोडिएको बताए ।

कार्किले महिला दिबिहिनीहरुले आफुलाई चाहिएको तालिम वा कस्तो योजना हो संघमा लिखित रुपमा ल्याउन अनुरोध गर्दै आफुले सघाउन तयार रहेको बताए ।

पोखरा महानगरपालिका व्यवसाय प्रवर्धन केन्द्रका प्रमुख नवराज अधिकारीले स्थानीय उत्पादन र रैथाने उत्पादनहरुलाई महत्व दिएर आफ्नो सिप, कलालाई आर्थिक रुपान्तरण परिणत गर्नुपर्ने बताए । हामीले अब संख्यालाई पनि बढाऔं र विश्व बजारको मागलाई पुरापुर थेग्न नसकेपनि भएसम्मको पहल गरौं । यसका लागि ब्राण्डिङ र गुणस्तरमा ध्यान दिनुपर्छ । पोखरा महानगरले अहिले दिदिबहिनी तथा उद्यमीहरुको लागि श्रीकम्प्लेक्समा कोशेली घर साझेदारीमा बनाएकोले त्यहाँबाट बजारिकरणको बाटो खुलेको बताए ।

कार्यक्रममा वार्षिक प्रतिवेदन, सचिव तथा कोषाध्यक्षका प्रतिवेदन पारित गरिएको थियो । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष गोकर्ण कार्कि, महासचिव शोभा गौतम, सदस्यहरु शुरेस अधिकारी, नविन नापित लगायतलाई सम्मान गरिएको थियो ।

सो अवसरमा घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय सदस्य गीता तिवारी, महिला उद्यमी संघ कास्कीका अध्यक्ष सरु वराल लगायतले हस्तकला र यस क्षेत्रमा देखिएका विविध कठिनाईक बारेमा सरकारी, नीजि क्षेत्रका प्रतिष्ठानहरुको सहयोगको अपेक्षा गरेको बताए ।

कार्यक्रममा यसपटक नयाँ सदस्य लिएका चार जनालाई प्रमाण पत्र प्रदान गरिएको छ । उनीहरुमा युवाराज लामिछाने, दुर्गा वराल, पुष्पा मर्सानी र डिल्लिराम शर्मा रहेका छन् ।

कास्की पोखरा हस्तकला संघकी अध्यक्ष रामकली खड्काको अध्यक्षतामा कार्यक्रम भएको थियो । यसैबीच नवनिर्वाचित अध्यक्ष सीता गुरुङलाई कार्यभार सुम्पिए पछि खड्का निवर्तमान अध्यक्ष भएकी छन् । आफु पदमा नभए पनि सधैं संघ र समितिको कामको पक्षमा संगै रहेको बताईन् । कार्यक्रम सचिव बुद्धि पूर्जाले संचालन गरेका थिए ।