चीनले सन् २०२४ को वृद्धि लक्ष्य हासिल गर्नेमा शीर्ष आर्थिक अधिकारी ‘विश्वस्त’

-



     सफल आवाज    
     असाेज २२ गते २०८१ मा प्रकाशित



बेइजिङ, २२ असोज । चिनियाँ अधिकारीहरू मुलुकले यस वर्षको आर्थिक वृद्धि लक्ष्य हासिल गर्ने कुरामा ‘पूर्ण विश्वस्त’ रहेको मुलुकका शीर्ष अधिकारीले मङ्गलबार बताएका छन् । चीनमा गत महिना घोषणा गरिएको उत्प्रेरणात्मक उपायहरूको शृङ्खलाले शेयर बजारहरूमा उछाल ल्याएको थियो ।

अधिकारीहरूले करिब पाँच प्रतिशतको विस्तारलाई लक्षित गरेकाले बेइजिङले व्यावसायिक गतिविधिलाई पुनः सुरु गर्न सङ्घर्ष गरिरहेको छ । लामो समयदेखिको आवास सङ्कटदेखि सुस्त उपभोग र स्थानीय सरकारी ऋणसम्मका धेरै प्रतिकूल परिस्थितिलाई हेर्दा यो लक्ष्य आशावादी रहेको विश्लेषकहरूले बताएका छन् ।

चीनको राष्ट्रिय विकास तथा सुधार आयोग (एनडिआरसी) का प्रमुख झेङ शान्जीको नेतृत्वमा मङ्गलबार भएको पत्रकार सम्मेलनमा सबैको ध्यान केन्द्रीत छ । लगानीकर्ताहरूले बेइजिङले थप अर्थतन्त्र बढाउने नीतिहरू सार्वजनिक गर्ने आशा गरेका छन् ।

“हामी वर्षका लागि आर्थिक र सामाजिक विकासका लक्ष्य कायमा राख्नेमा पूर्ण विश्वस्त छौँ”, उनले भने, “हामी स्थिर, स्वस्थ र दिगो विकास कायम राख्नमा पनि पूर्ण विश्वस्त छौँ ।”

व्यापारीहरूले एक साताको विश्रामपछि बेइजिङबाट थप उपायहरूको आशामा जोडदार र्यालीलाई जारी राख्दा मुख्य भूमि चीनका सेयरहरू मङ्गलबार १० प्रतिशतभन्दा बढीले बढे । यसले स्वर्णिम हप्ता बिदाअघिको २० प्रतिशतभन्दा बढीले वृद्धि भयो ।