
जेनेभा, २३ असोज । आप्रवासी र शरणार्थीको अधिकारका लागि दशकौँ लामो समयदेखि काम गर्दै आएकी ब्राजिलीयाली भिक्षुणी रोसिटा माइलेसीले बुधबार संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकाय (युएनएचसिआर)को नानसेन पुरस्कार जितेका छन् ।
७९ वर्षीय माइलेसीले ४० वर्षको अवधिमा ब्राजिलमा कानुनी कागजात, आवास, खाना, स्वास्थ्य सेवा, भाषा प्रशिक्षण र श्रम बजारमा पहुँच पु¥याउन हजारौँ मानिसलाई सहयोग गरेको युएनएचसीआरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । माइलेसीसहित चार क्षेत्रीय पुरस्कार पनि सबै महिलाहरूलाई दिइएको छ ।
माइलेसीसँगै क्षेत्रीय पुरस्कारबाट नेपालकी दीप्ति गुरुङ, बुर्किना फासोकी मैमौना बा, सिरियाली जिन डाभोद, सुडानी शरणार्थी नाडा फाडोल सम्मानित भएका छन् । सम्मानित हुने चार व्यक्तित्वमध्येकी एक नेपाली चेली गुरुङ रहेकी छन् । उनले आफ्ना छोरीहरू राज्यविहीन भएपछि नेपालको नागरिकता कानुनमा सुधार का लागि अभियान चलाएकी थिइन्।
“मैले आप्रवासी र शरणार्थीहरूको लागि आफूलाई समर्पित गर्ने निर्णय गरेँ । म शरणार्थीहरूलाई सहयोग गर्न, स्वागत गर्न र एकीकृत गर्न बढ्दो आवश्यकताबाट प्रेरित छु,” माइलेसीले पुरस्कृत भएपछि दिएको संक्षिप्त टिप्पणीमा भनिन्।
रोमन क्याथोलिक भिक्षुणीले माइग्रेसन एण्ड ह्युमन राइट्स इन्स्टिच्युटलाई शरणार्थीको हक हितका लागि नडराईकन काम गर्न निर्देशन दिँदै भने, “म काम गर्न डराउँदिन, यद्यपि हामीले चाहेको सबै कुरा प्राप्त गर्न सक्दैनौँ। यदि मैले त्यसो गर्न सक्थेँ भने यसलाई प्राप्त गर्न म संसारलाई उल्टो पारिदिने थिए ।”
यूएनएचसीआरले उनको कामको बारेमा प्रकाश पार्दै माइलेसीले शरणार्थीको हक र हितका लागि एक सशक्त वकीलको रूपमा काम गर्नुभएको छ । उनको कामले विशेष गरी ब्राजिलको १९९७ को शरणार्थी कानून निर्माणमा अन्तर्राष्ट्रिय मापदण्डअनुरूपको सार्वजनिक नीतिलाई आकार दिन ‘महत्वपूर्ण’ भूमिका खेलेको बताएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




