ड्रोन तनाव बढेपछि ‘पूर्ण रूपमा तयार’ रहेको दक्षिण कोरियाली सेनाको भनाइ

-



     सफल आवाज    
     असाेज २८ गते २०८१ मा प्रकाशित



सोल, २८ असोज । उत्तर कोरियाले सीमामा रहेका सैनिकहरूलाई प्योङयाङमा ड्रोन उडानको बढ्दो विवादमा गोली हान्न तयार रहन आदेश दिएपछि आफूहरू ‘पूर्ण रूपमा तयार’ रहेको दक्षिण कोरियाली सेनाले सोमबार बताएको छ ।

आणविक हतियार सम्पन उत्तरले सोललाई आफ्नो राजधानीमाथि ड्रोन उडाएर ‘उत्तेजक अफवाह र फोहोर’ भरिएका प्रचार पर्चाहरू खसालेको आरोप लगाउँदै आइतबार यदि अर्को ड्रोन पत्ता लागे यसलाई ‘युद्धको घोषणा’ मानिने चेतावनी दिएको छ । सोलको सेनाले यसअघि नै उडानहरूको पछाडि आफ्नो हात रहेको भन्ने दाबीलाई अस्वीकार गरेको छ ।

सामान्यतया बेलुनद्वारा लामो समयदेखि प्रचार सामग्री र अमेरिकी मुद्रा उत्तरतर्फ पठाउँदै आएका कार्यकर्ता समूहहरूमा दक्षिणका स्थानीयहरूको अनुमानहरू केन्द्रित छन् । यद्यपि उत्तरले सोललाई आधिकारिकरूपमा दोषी ठहर गर्दै आइतबार राति पहिले नै युद्धको स्थितिमा रहेका आठ तोपखाना ब्रिगेडलाई ‘पूर्ण रूपमा गोली चलाउन तयार रहन’ भनेको छ र प्योङयाङमा हवाई निगरानी चौकीहरू सुदृढ पारेको घोषणा गरेको छ ।

“हाम्रो सेनाले परिस्थितिलाई नजिकबाट नियालिरहेको छ र उत्तरको उक्साहटका लागि पूर्ण रूपमा तयार छ”, दक्षिणको संयुक्त प्रमुखहरूको कार्यालय (जेसिएस) का प्रवक्ता ली सियोङ–जुनले पत्रकार सम्मेलनमा भने। हालैका दिनहरूमा प्रचार ड्रोनहरूले राजधानीको हवाई क्षेत्रमा तीन पटक प्रवेश गरेको प्योङयाङले दाबी गरेको छ । साथै नेता किम जोङ उनकी शक्तिशाली बहिनीले तिनीहरू नरोकिए ‘भयानक विपत्ति’ को धम्की दिए ।