दोहा वार्ता ‘सकारात्मक’ : हमास

-



     सफल आवाज    
     पौष ३ गते २०८१ मा प्रकाशित



दोहा, ३ पुस । इजरायली प्रतिनिधिमण्डलले मध्यस्थकर्तासँग भेटघाट गर्न गएको एक दिनपछि हमासले युद्धविराम र गाजामा बन्धक बन्दी आदानप्रदान गर्ने उद्देश्यले कतारमा भएको वार्ता ‘गम्भीर र सकारात्मक’ भएको जनाएको छ ।

प्यालेस्टिनी लडाकू समूहले मङ्गलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कतार र इजिप्टको मध्यस्थतामा दोहामा भएको वार्ता गम्भीर र सकारात्मक भएको र छलफलले युद्धविराम र कैदी आदानप्रदानका लागि सहमतिमा पुग्न सम्भव छ भन्नेमा हमास विश्वस्त छ ।”

दुई पक्षबीचको खाडल कम गर्ने उद्देश्यले वार्ताका लागि इजरायली अधिकारीहरू सोमबार दोहा आइपुगेको वार्ताबारे जानकार स्रोतले एएफपीलाई जानकारी दिएको छ ।

गत बुधबार मोसादका गुप्तचर प्रमुख डेभिड बर्नियाले कतारको राजधानी दोहाको भ्रमण गरेपछि उक्त भेटवार्ता भएको स्रोतले नाम नबताउने शर्तमा जनाएको छ । संयुक्त राज्य अमेरिका र इजिप्टसँगै कतारले इजरायल र हमासबीच गाजामा युद्धविराम र बन्धक रिहाइका लागि महिनौँदेखि मध्यस्थता गर्दै आएको छ ।

तर गत वर्षको अन्त्यमा इजरायली जेलमा रहेका प्यालस्टिनीहरूको बदलामा सयौं बन्धकहरूलाई रिहा गरिएको एक हप्ताको युद्धविरामबाहेक लगातार भएका वार्ताहरू युद्ध रोक्न असफल भएका थिए ।