ओलम्पिक, उथलपुथल र ट्रम्पको वर्षपछि विश्वले सन् २०२५ लाई स्वागत गर्दै

-



     सफल आवाज    
     पौष १६ गते २०८१ मा प्रकाशित



सिड्नी, १६ पुस । सन् २०२५ लाई अभिवादन गर्न भीडले मङ्गलबार आतसबाजीको आनन्द लिँदै र स्याम्पेन पिउँदै ओलम्पिक गौरव, डोनाल्ड ट्रम्पको नाटकीय पुनरागमन तथा मध्यपूर्व र युक्रेनमा उथलपुथल ल्याउने वर्षलाई बिदाइ गर्नेछन् । सन् २०२४ अहिलेसम्मकै सबैभन्दा तातो वर्षका रूपमा दर्ता हुने लगभग निश्चित छ ।

जलवायु–प्रेरित विपत्तिहरूले युरोपको मैदानदेखि काठमाडौँ उपत्यकासम्म तहसनहस पारेको छ । मङ्गलबार दिउँसो अस्ट्रेलियाको मनमोहक सिड्नी हार्बरमा नयाँ वर्षको पूर्वसन्ध्याको समारोह सुरु हुँदा धेरै दर्शकहरू बितेको १२ महिनालाई पछाडि छोड्न पाउँदा राहत महसुस गरिरहेका थिए ।

“स्पष्ट रूपमा विभिन्न ठाउँमा धेरै युद्ध र अशान्ति चलिरहेको छ”, ३२ वर्षीय बीमा कर्मचारी स्टुअर्ट एडवड्र्सले सिड्नीको जलक्षेत्रमा भीड बढ्दै गर्दा भने, “यदि यी सबै कुराहरू आफैँ समाधान हुन्थे र मिल्थे भने संसारका लागि राम्रो हुन्थ्यो ।” ‘विश्वको नयाँ वर्षको राजधानी’ भनिने यस शहरले मध्यरातमा आफ्नो प्रख्यात अपेरा हाउस र हार्बर ब्रिजबाट नौ टन आतसबाजी छोड्नेछ ।

आतसबाजी हेर्न शहरको किनारमा दश लाखभन्दा बढी दर्शक जम्मा हुने अपेक्षा गरिएको छ । “सबै सुन्दर रङहरू देखेर र अद्भुत अस्ट्रेलियामा यति धेरै मानिससँग यो परिस्थितिमा रहन पाउँदा आनन्द लिँदैछु”, ७१ वर्षीय सेवानिवृत्त नर्स रुथ रोसेले भने । टेलर स्विफ्टले यस वर्ष आफ्नो इरास भ्रमण समाप्त गरे, पिग्मी हिप्पो मो देङ भाइरल भयो र १६ वर्षीया फुटबल प्रतिभा लामिन यमलले स्पेनलाई युरो जित्न मद्दत गरे।

पेरिस ओलम्पिकले जुलाई र अगस्टमा केही हप्ताका लागि विश्वलाई एकजुट ग¥यो । खेलाडीहरूले सेन नदीमा पौडी खेले, आइफेल टावरको छायाँमा दौडे र भर्साइल दरबार बाहिरको सजाइएको लेनमा घोडा चढे ।