महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति पक्राउ

-



     सफल आवाज    
     माघ २ गते २०८१ मा प्रकाशित



सियोल, २ माघ । अनुसन्धानकर्ताहरुले महाभियोगपछि निलम्बित दक्षिण कोरियाली राष्ट्रपति युन सुक योललाई सरकारविरुद्ध विद्रोह भड्काएको आरोपमा बुधबार पक्राउ गरेको सीएनएनले जनाएको छ ।

“संयुक्त अनुसन्धान मुख्यालयले राष्ट्रपति युनलाई बुधबार बिहान १०ः३३ बजे पक्राउ गरेको हो,” अल जजिराले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । यदि उनीमाथिको आरोप प्रमाणित भएमा दक्षिण कोरियाको संविधानअनुसार युनलाई मृत्युदण्ड वा आजीवन कारावासको सजाय हुन सक्छ ।

सीएनएनका अनुसार हप्तौँदेखि प्रहरीले उनलाई गिरफ्तार गर्न खोजीरहेको भएपनि राष्ट्रपतिको सुरक्षार्थ खटिएका सेनाको टोलीले उनको निवासको सुरक्षा गरिरहेको र उनलाई पक्राउ गर्न अवरोध सिर्जना गरिरहेको थियो ।

अल जजिराका अनुसार पक्राउ पर्नुअघि रेकर्ड गरिएको एक भिडियो सन्देशमा युनले सैनिक शासन लागू गर्न असफल भएको भन्दै सुनुवाईका लागि जाने बताए ।

“मैले भ्रष्टाचार अनुसन्धान कार्यालयलाई जवाफ दिने निर्णय गरेँ”, युनलाई उद्धृत गर्दै अल जजिराले लेखेको छ, “उनले अनुसन्धानको वैधानिकता स्वीकार गरेका थिएनन् तर ‘कुनै पनि दुर्भाग्यपूर्ण रक्तपात रोक्न’ अनुसन्धानमा सहभागी हुनेछ ।”

अल जजिराका अनुसार समर्थकसहित सयौं मानिस युनको घर बाहिर भेला भएका थिए भने सत्तारुढ कन्जरभेटिभ पार्टी पिपुल पावर पार्टीका सांसद र युनका वकिलको एक समूहले पनि आवासीय परिसरभित्र गिरफ्तारी रोक्न प्रयास गरेका थिए।