
मनाङ, १७ माघ । किसानहरु सामूहिक खेतीतर्फ आकर्षित भएका छने । खेतीयोग्य भूमि कम रहेको यहाँका स्थानीयवासी सामूहिक खेतीतर्फ आकर्षित भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
यहाँ उत्पादित खाद्यवस्तु जिल्लाभित्रै खपत हुने हुँदा सामूहिक खेतीतर्फ किसान आकर्षित भएको कृषि ज्ञान केन्द्र प्रमुख मदन रेग्मीले बताए ।
“मनाङ आउने पर्यटकलाई यहीँ उत्पादित खाद्यवस्तु उपयोग गरिने भएकाले किसानलाई प्रोत्साहन मिलेको छ”, उनले भने, “यसले हामीलाई उत्साहित बनाएको छ ।” उनका अनुसार केही कृषक समूहले बाँझो जमिन भाडामा लिएर पनि खेती गरिरहेका छन् । यसले खेतीयोग्य भूमिको उपयोग वृद्धि भएको उनले बताए।
सामूहिक खेती गर्दा बीउ, मल, सिँचाइमा ज्ञान केन्द्रले सहयोग गर्ने भएकाले सहज भएको नासोँ गाउँपालिका–१ तालछहरा कृषि समूहका अध्यक्ष रोशनी घलेले बताइन् । “बाँझो जग्गा पनि उपयोग हुने र ज्ञान केन्द्रबाट अनुदान पाइने भएकाले सहज भएको छ ।” सामूहिक खेतीले महिलालाई आर्थिक रुपमा सबल बनाउनसमेत सहयोग पुगेको उनको बुझाइ छ ।
यहाँ हाल दुई वटा मिश्रित समूह छन् भने नौ वटा महिलाका मात्रै कृषक समूह छन् । नासोँ गाउँपालिका–१ तालगाउँ, नासोँ–२ नाचे गाउँ, नासोँ–३ खोत्रोपाखा र निगालाघारी, नासोँ–४ ओडार गाउँ, चामे गाउँपालिका–२ थानचोक, चामे–१ तिमाङ, चामे–५ वडा, मनाङ ङिस्याङमा तीन वटा समूहमार्फत सामूहिक खेती भइरहेको छ ।
यहाँ आलु, करु, गहुँ, फापर, उवा, कोलु बोडीलगायतका रैथाने बाली उत्पादन हुने गरेको छ । यहाँका किसानले प्रविधिको प्रयोग गर्दै रैथाने अन्नबाटै पर्यटकका लागि खाना, नास्ताका रुपमा खाद्यान्न उपयोग गर्ने गरेका छन् ।








सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा…
काठमाडौं, ८ मङ्सिर। औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित… 




