प्रभु बैंककाे ३१२औं शाखा दार्चुलामा खुल्याे

-



     सफल आवाज    
     फागुन १८ गते २०८१ मा प्रकाशित



काठमाडाैं, १८ फागुन । प्रभु बैंक लिमिटेडले आफ्नाे शाखा सञ्जाल विस्तार गर्ने क्रममा आजदेखि सुदुर पश्चिम प्रदेशको दार्चुला जिल्ला महाकाली नगरपालिका वडा नं. ०४ स्थित खलंगामा ३१२ औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

बैंकले देशका विभिन्न ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरिरहेको बताएकाे छ । बैंकको यो अभियानले देशैभर बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकरात्मक टेवा पुगेकोे छ ।

बैंकको दार्चुला शाखा कार्यालयको समुद्घाटनको क्रममा बैंकका सुदुर पश्चिम प्रदेश कार्यालयका प्रमुख व्यापारिक केन्द्र अधिकृत, कर्णाली प्रदेश प्रमुख लगायत स्थानीय बासिन्दा, सर्वसाधारणहरुको उपस्थिति रहेको थियो । बैंकको दार्चुला शाखा कार्यालय सञ्चालनमा आए पश्चात् स्थानीय बासिन्दा, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरु प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन ।

बैंकको दार्चुला शाखा सञ्चालनमा आएबाट यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्वपूर्ण टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ । दार्चुला शाखा कार्यालय सञ्चालनमा आएसँगै प्रभु बैंक लिमिटेडको सेवा अब देशका ७७ वटै जिल्लामा बिस्तार भएको छ ।