नेप्से २०.६८ अंकले घट्यो, ८ अर्ब ३७ करोडकाे काराेबार

-



     सफल आवाज    
     फागुन २६ गते २०८१ मा प्रकाशित



काठमाडौं, २६ फागुन । साताको शेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली शेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । काराेबार रकम पनि अन्य दिनहरूकाे तुलनामा केहि घटेकाे छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सार्वजनिक गरेसंगै सकारात्मक बन्दै आएको नेप्सेमा पछिल्ला दिनहरुमा करेक्सन भईरहेको छ । यसले लगानीकर्ताहरुलाई पर्ख र हेरको अवस्थामा पुर्याएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २०.६८ अंकले घटेर २७५१.४२ विन्दुमा झरेको छ । नेप्सेमा ०.७४ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ३.५३ अंकले घटेर ४५९.७६ विन्दुमा रहेको छ ।

१३ वटा उपसमूहहरुमध्ये एउटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका १२ वटा उपसमूहहरु राताम्मै भएका छन् । कुल ३११ कम्पनीहरुको शेयर कारोबार भएको छ ।

उनीहरुको १ करोड ५० लाख ९४ हजार ९१५ कित्ता शेयरको खरिदबिक्रीबाट ८ अर्ब ३७ करोड ८० लाख ५५ हजार ५७ रुपैयाँ ५७ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी नेपाल रिईन्स्योरेन्स कम्पनी लिमिटेडको कारोबार भएको छ । कम्पनीको ७३ लाख ७३ करोड ५० लाख ९० हजार ९२ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै नेस्डो समृद्ध लघुत्ति वित्तीय संस्था लिमिटेडको शेयरमूल्य बढेको छ । संस्थाको शेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै उपकार लभुवित्त बित्तीय संस्था लिमिटेडको शेयरमूल्य घटेको छ । संस्थाको शेयरमूल्य ६.९८ प्रतिशतले घटेको छ ।