युक्रेनको सुरक्षा ग्यारेन्टीबारे छलफल गर्न पेरिसमा सैन्य प्रमुखहरू

-



     सफल आवाज    
     फागुन २७ गते २०८१ मा प्रकाशित



पेरिस, २७ फागुन । रुससँगको कुनै वार्तापछि युक्रेनलाई सुरक्षा ग्यारेन्टीहरू प्रदान गर्न इच्छुक ३० युरोपेली र नाटो देशका सैन्य प्रमुखहरू मङ्गलबार पेरिसमा भेट गर्दैछन् ।

रुसले छिमेकी युक्रेनमा आक्रमण गरेको तीन वर्षभन्दा बढी समय भएपछि युरोपले आफ्नो सुरक्षा बढाउन र संयुक्त राज्य अमेरिकामाथिको निर्भरताबाट मुक्त हुन सङ्घर्ष गरिरहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रान्सअटलान्टिक गठबन्धनलाई उल्ट्याउँदै र मस्कोसँग पुनर्मिलन खोज्दै गरेको बेला यी कदमहरू आएका हुन् । ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग सञ्चार पुनः सुरु गरेका छन् र युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको आलोचना गरे ।

यसबाट किएभ र युरोपेली सहयोगीहरू बीच ट्रम्पले युक्रेनलाई रुसको पक्षमा सम्झौता स्वीकार गर्न बाध्य पार्छन् भन्ने डर उत्पन्न भएको छ । ट्रम्पले किएभलाई सैन्य सहायता र गुप्तचर–साझेदारी पनि निलम्बन गरेका छन् ।

युक्रेनका एक अधिकारीका अनुसार मङ्गलबार साउदी अरबमा अमेरिकी अधिकारीहरूसँग भएको वार्तामा युक्रेनले रुससँग हवाई र नौसैनिक युद्धविरामको प्रस्ताव गर्ने थियो । फ्रान्सेली सेनाले बेलायत र टर्कीसहित ३० युरोपेली र नाटो राष्ट्रका सैन्य प्रमुखहरूको पेरिस बैठक सोही दिन हुने बताएको छ ।