उत्तर कोरियाले थप तीन हजार सैनिक रूस पठाउने

-



     सफल आवाज    
     चैत्र १४ गते २०८१ मा प्रकाशित



सियोल, १४ चैत  । उत्तर कोरियाले सन् २०२५ मा थप तीन हजार सैनिक रुसमा पठाएको र मस्कोलाई किएभसँग लड्न सहयोग पुर्‍याउन क्षेप्यास्त्र, तोपखाना र गोलाबारुद आपूर्ति गरिरहेको दक्षिण कोरियालीसेनाले बिहीबार जनाएको छ ।

सन् २०२२ मा मस्कोले युक्रेनमाथि गरेको आक्रमणपछि परम्परागत मित्र राष्ट्र रुस र उत्तर कोरिया नजिकिएका छन् र सियोलले नेता किम जोङ उनले मस्कोलाई सहयोग गर्न हजारौं सैनिक र हतियारका कन्टेनरहरू पठाएको बताए ।

मस्को र प्योङयाङ दुवैले सैनिक तैनाथीको औपचारिक पुष्टि गरेका छैनन् तर गत वर्ष रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाको दुर्लभ भ्रमण गर्दा दुई देशले पारस्परिक प्रतिरक्षासम्बन्धी धारासहित व्यापक सैन्य सम्झौतामा हस्ताक्षर गरेका थिए ।

दक्षिण कोरियाका सेना प्रमुखले भने, “जनवरी र फेब्रुअरीको बीचमा थप तीन हजार सैनिकलाई सुदृढीकरणको रुपमा पठाइएको अनुमान गरिएको छ ।” रुसमा पठाइएको उत्तर कोरियाली सेनाको प्रारम्भिक ११ हजार सैनिकमध्ये चार हजार मारिएको वा घाइते भएको अनुमान गरिएको छ ।