भारतमा २४ विमानस्थलमा उडान निलम्बन

-



     सफल आवाज    
     वैशाख २६ गते २०८२ मा प्रकाशित



मुम्बई, २६ वैशाख । भारतले आणविक–सशस्त्र प्रतिद्वन्द्वी पाकिस्तानसँगको लडाइँपछि उत्तरी क्षेत्रका २४ विमानस्थलमा नागरिक उडानहरू स्थगित गरेको छ ।

भारतले बुधबार ‘आतङ्कवादी शिविरहरू’ लाई लक्षित गर्दै हवाई आक्रमण सुरु गरेपछि र दशकौँमा यी दुई छिमेकीबीच सबैभन्दा खराब झडपहरू भड्किएपछि मुख्यतया पाकिस्तानमा झण्डै ५० जनाको मृत्यु भएको छ ।

बिहीबार राति भारतीय सरकारले २४ विमानस्थलको सूची जारी गरेको छ । त्यहाँ नागरिक उडानहरू बन्द गरिएका छन् । ती विमानस्थल पाकिस्तानसँगको पश्चिमी सीमा नजिकका जोधपुर, लुधियाना र अमृतसर जस्ता सहरहरूमा रहेका छन् ।

एयर इन्डिया, इन्डिगो र स्पाइसजेट जस्ता भारतका केही ठूला एयरलाइन्सले बुधबारदेखि एक सयभन्दा बढी उडान रद्द गरिसकेका छन् ।

स्थानीय मिडियाले नागरिक उडानको निलम्बन शनिबार बिहान हटाइने सम्भावना रहेको रिपोर्ट गरेका छन् ।