म्यान्माकी आङ सान सुकीको ८०औँ जन्मदिन जेलमा

-



     सफल आवाज    
     असार ५ गते २०८२ मा प्रकाशित



याङगुन, ५ असार । म्यान्माकी पदच्यूत लोकतान्त्रिक नेत्री आङ सान सुकीले बिहीबार आफ्नो ८०औँ जन्मदिन सैन्य सरकारको हिरासतमा मनाइन्। हिरासतमा उनले आफ्नो बाँकी जीवनभर चल्ने सजायहरू भोगिरहेकी छन् ।

सुकी म्यान्माको एक दशकको लोकतान्त्रिक सुधारकालको प्रतिनिधि व्यक्तित्व हुन् । सैन्य शासनबाट खुल्दै गर्दा उनी वास्तविक नेत्री बनिन्। तर सन् २०२१ को विद्रोहमा जनरलहरूले सत्ता फिर्ता लिएपछि उनी भ्रष्टाचारदेखि लिएर कोभिड–१९ महामारीको प्रतिबन्ध उल्लङ्घन गर्ने अभियोगमा बन्दी बनाइन् र २७ वर्षको सजाय भोगिरहेकी छन् ।

“यो क्षणमा उत्सव मनाउन गाह्रो हुनेछ”, बेलायतका उनका ४७ वर्षीय छोरा किम एरिसले भने, “यो यति लामो समयदेखि चलिरहेकाले हामीले सहन सिकेका छौँ ।” उनले आफ्नी आमाको जन्मदिनसम्मका आठ दिनमा ८० किलोमिटर (५० माइल) दौडिरहेको र आफ्नी आमाका लागि ८० हजारभन्दा बढी शुभकामना भिडियो सन्देशहरू सङ्कलन गरे। तर सुकीले ती देख्न पाउने छैन् । उनी म्यान्माको फैलिएको राजधानी नेपिडोमा एकान्तमा छन् । जहाँबाट सेनाले गुरिल्ला लडाकूहरूविरुद्ध गृहयुद्धको निर्देशन गर्छ ।

एरिसले आफ्नी आमा जेल परेदेखि दुई वर्षअघि पत्रमार्फत एक पटक मात्र आफ्नी आमाबाट सुनेको बताए। “उनको अवस्था कस्तो छ हामीलाई थाहा छैन”, उनले भने। उनले आफ्नी आमाले मुटु, हड्डी र दाँतको समस्याको उपचार नपाएर पीडा भोगिरहेको हुनसक्ने डर व्यक्त गरे ।