दरमखोला हाइड्रोकाे आईपीओमा आवेदन दिने अन्तिम दिन

-



     सफल आवाज    
     असार २३ गते २०८२ मा प्रकाशित



काठमाडौं, २३ असार । दरमखोला हाइड्रो इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ ।

कम्पनीले असार ९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेकाे हाे ।

जारी पूँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशतले हुने ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता शेयर निष्काशनकाे अनुमति लिइएकाे थियो।

यसमा १० करोड ३० लाख ५० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ मूल्यमा १० लाख ३० हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानियका लागि रहेकाे छ । यसमा गुल्मीकाे मुसीकोट नगरपालिका, बाग्लुङकाे गल्कोट नगरपालिका र बाग्लुङकाे बडीगाड गाउँपालिकाका स्थानियले आवेदन दिन पाउने भएका छन्।

सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुने २ करोड ९१ लाख ९५ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा २ लाख ९१ हजार ९५० कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि रहेकाे छ । कर्मचारीहरुका लागि ५८ हजार ३९० कित्ता तथा सामूहिक लगानी कोषहरुका लागि १ लाख ४५ हजार ९७५ कित्ता रहेकाे छ ।

लगानीकर्ताले घटीमा १० तथा बढीमा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका जनताले असार २३ गतेसम्म आवेदन दिन सक्नेछन् । साे अवधिमा पूरा आवेदन नपरेमा साउन ६ गतेसम्म आवेदन दिन सकिनेछ ।वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले असार २३ गतेसम्म आवेदन दिन सक्नेछन्।

स्थानिय बासिन्दाले ग्लोबल आइएमई बैंकको वामी शाखा, लक्ष्मी सनराइज बैंकको गाल्कोट शाखा, प्रभु बैंकको गाल्कोट शाखा र दरम खोला पावरहाउसबाट आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फाराम बापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।