नयाँ भन्सार शुल्क समयसीमा ‘१०० प्रतिशत दृढ छैन’ : ट्रम्प

-



     सफल आवाज    
     असार २४ गते २०८२ मा प्रकाशित



वासिङ्टन, २४ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार एक दर्जनभन्दा बढी देशलाई उच्च भन्सार शुल्क लगाउने धम्की दिएर आफ्नो व्यापार युद्धलाई पुनःस्थापित गरेका छन् । यद्यपि त्यसपछि उनले सम्झौतामा पुग्नका लागि आफ्नो नयाँ अगस्टको समयसीमा लचिलो हुनसक्ने बताए।

अमेरिकाका प्रमुख सहयोगीहरू जापान र दक्षिण कोरियासहितका व्यापारिक साझेदारहरूलाई पत्र पठाउँदै ट्रम्पले अप्रिलमा निलम्बन गरेको भन्सार शुल्क तीन हप्तामा अझ तीव्र रूपमा फिर्ता हुने घोषणा गरेका थिए। टोकियो र सियोललाई उनीहरूका सामानमा २५ प्रतिशत कर लगाउने उनले लेखेका छन्।

इन्डोनेसिया, बङ्गलादेश, थाइल्यान्ड, दक्षिण अफ्रिका र मलेसियालगायतका देशहरूलाई २५ प्रतिशत देखि ४० प्रतिशत सम्मका भन्सार शुल्क लगाइएको छ । तर आफ्नो करहरूद्वारा पहिले नै अस्थिर वैश्विक अर्थतन्त्रमा नयाँ अनिश्चितता निम्त्याउने कदममा ७९ वर्षीय ट्रम्पले एक पटक फेरि देशहरूलाई सम्झौता गर्न ठाउँ छाडेका छन् ।

“म दृढ भन्छु, तर सतप्रतिशत दृढ होइन”, अगस्ट १ को समयसीमा दृढ छ कि छैन भनेर सोध्दा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँगको रात्रिभोजमा ट्रम्पले पत्रकारहरूलाई भने। पत्रहरू उनको अन्तिम प्रस्ताव हो कि होइन भनेर सोधिएको प्रश्नमा ट्रम्पले जवाफ दिए, “म अन्तिम भन्छु–तर यदि तिनीहरूले फरक प्रस्तावका साथ फोन गरे र मलाई यो मनपर्‍यो भने, हामी यो गर्नेछौँ ।”