टेक्सासमा बाढीपछि १६० जनाभन्दा बढी बेपत्ता

-



     सफल आवाज    
     असार २५ गते २०८२ मा प्रकाशित



हन्ट (संयुक्त राज्य अमेरिका), २५ असार । टेक्सासमा विनाशकारी बाढीपछि एक सय ६० भन्दा बढी मानिस बेपत्ता भएको राज्यका गभर्नरले मङ्गलबार बताएका छन् । अहिलेसम्म एक सय नौ जनाको ज्यान लिएको यो त्रासदीबाट बेपत्ता हुनेहरूको सङ्ख्यामा नाटकीय वृद्धि भएको छ ।

टेक्सासका केही काउन्टीमा अचानक बाढी आएको चार दिनपछि बाँचेका व्यक्तिहरू भेट्ने आशा मिसिएको थियो र गभर्नर ग्रेग एबटले बेपत्ताहरूको सूची अझै बढ्न सक्ने चेतावनी दिए । “केर काउन्टी क्षेत्रमा मात्रै एक सय ६१ जना बेपत्ता भएको थाहा छ”, उनले मङ्गलबार गम्भीर खोजी जारी रहँदा पत्रकारहरूलाई भने, “त्यो सूचीमा अझ धेरै थप्न सकिने सम्भावना छ ।”

उनले यो आँकडा साथीहरू, आफन्तहरू र छिमेकीहरूले बेपत्ताका रूपमा रिपोर्ट गरेका व्यक्तिहरूमा आधारित रहेको बताए । मध्य टेक्सास क्षेत्रको ‘फ्ल्यास फ्लड एली’ भनेर चिनिने केर काउन्टीमा सबैभन्दा धेरै क्षति भएको छ । यहाँ कम्तीमा ९४ जनाको मृत्यु भएको छ ।

यसमा कम्तीमा २७ केटी र सल्लाहकारहरू समावेश छन् । शुक्रबार बिहान सबेरै जुलाई चौथो बिदाको सुरुआत हुँदा नदीमा बाढी आउँदा उनीहरू गुआडालुपे नदीमा युवा समर क्याम्पमा बसिरहेका थिए ।