साउन ६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै नबिल बैंक

-



     सफल आवाज    
     असार ३० गते २०८२ मा प्रकाशित



काठमाडौं, ३० असार । नबिल बैंकले साउन ६ गतेदेखि ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ निष्काशन गर्ने भएकाे छ । बैंकले ८ वर्ष अवधि रहेकाे वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ निष्काशन गर्न लागेको जनाएकाे छ ।

साे ऋणपत्र एक हजार अंकित दरमा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता निष्काशन गरिने भएकाे हाे । यसबाट १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत बिक्री गरिनेछ । बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणका लागि रहेकाे छ । सर्वसाधारणका लागि रहेकाेबाट ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि रहेकाे छ।

लगानीकर्ताले घटीमा २५ तथा बढीमा सम्पूर्ण कित्ताका लागि आवेदन दिन पाउनेछन्। यसमा साउन ९ गतेसम्म आवेदन दिन सकिने भएकाे छ । पूरा आवेदन नपरेमा साउन २० गतेसम्म आवेदन दिन सकिनेछ।

लगानीकर्ताले सेबाेनबाट अनुमति लिएका सिआस्बा सेवामा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखाहरुबाट आवेदन दिन पाउनेछन्।

बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ।